०८ साउन २०८३, शुक्रबार

सिभिल बैंकले ५ प्रतिशत बोनश शेयर दिने

सिभिल बैंकले ५ प्रतिशत बोनश शेयर दिने

सिभिल बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा मिति २०७९ पौष २८ गते बिहीबार कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनका लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आर्थक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न 'एस राई एण्ड एशोसियट्स'लाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साथै  सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति-एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पति तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्रलगायत सम्पूर्ण काम कार्यवाहीलाई अनुमोदन गरिएको छ ।

यसै प्रसंगमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत नियमनकारी निकायहरूबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पुँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भए प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जनसमेत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरिएको बैंकले जनाएको छ। 

उक्त साधारण सभाका सबै प्रस्ताव पारित गरेकामा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले धन्यवाद दिए।

साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् दुवै बैंकको एकीकृत कारोबार २०७९ माघभित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष पाण्डेले बताए। 

करिब ८ लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू तथा १०२ एटीएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्