२९ असार २०८३, सोमबार

चलचित्र ‘अगस्त्य’मा भित्रिए सौगात

चलचित्र ‘अगस्त्य’मा भित्रिए सौगात

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले चलचित्रमा सौगात मल्लको अभिनय रहने जानकारी गराएको हो ।

‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । चलचित्रमा उनी अगस्त्यको भूमिकामा रहनेछन् ।

चलचित्रका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले जानकारी दिए ।

उनी स्वयंको लेखन रहेको चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । 

राजेश श्रेष्ठले यस चलचित्रलाई खिच्नेछन् । 

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जनाइएको छ ।

चलचित्रमा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ ।

निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ ।

दुई श्रृंखलामा निर्माण हुन लागेको चलचित्रको दुवै पार्टको स्क्रिप्ट तयार भइसकेको छ । 

आगामी वैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।

उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । यो चलचित्रलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन् । त्यस्तै, निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि चलचित्र निर्माणका लागि सहर्ष राजी भएको बताउँदै चलचित्र स्तरीय बन्ने विश्वास व्यक्त गरे ।

हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट चलचित्रको शीर्षक जुराइएको हो । 

चलचित्र चलेपनि नचलेपनि सौगातलाई अफरमा ओइरो छ । उनले यसअघि निर्माता किरण नेपालीको चलचित्र ‘हात्तीछाप’ साइन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्