
काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुर्घटनामा परेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै भयानक दुर्घटना भएको छ । उक्त विमानस्थल जनवरी १ बाट मात्रै सञ्चालनमा आएको हो ।
पुरानो र नयाँ विमानस्थलको बीचमा भएको यो दुर्घटना आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो हो । यसअघि एटीआर ७२ विमान नेपालमा दुर्घटना भएको थिएन ।
यो आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनले बताए ।
७२ जनाको क्षमता रहेको विमानमा पूर्ण क्षमतामा अर्थात् ७२ जना नै सवार थिए ।
पोखरा विमानस्थल सञ्चालनमा १५ दिनमै यति ठूलो दुर्घटना हुनुले सम्पूर्ण हवाई क्षेत्रलाई दु:खित बनाएको उनले बताए ।
नेपालमा अधिकांश दुर्घटना साना र दुर्गम क्षेत्रका उडानमा हुने गरेको भए पनि आन्तरिक उडानकै यति ठूलो विमान दुर्घटना दुर्घटना भएको थिएन ।
आन्तरिकतर्फ यती र बुद्धले मात्रै यस्ता ठूला विमान उडाइरहेका छन् ।
नेपाल आकाशमा आज दुर्घटना भएको उक्त विमान १५ वर्ष ५ महिनादेखि उडानमा थियो । यही विमान हो, जसलाई २००७ मा भारतको किंगफिशर एयरलाइन्सले पनि उडाएको थियो ।
यसलाई २०१३ देखि थाइल्यान्डको नोक एयरलाइन्समार्फत उडाइएको थियो । यो विमान २०१९ को अप्रिलदेखि यती एयरलाइन्सले उडाउन थालेको हो ।
यती एयरलाइन्सले ७ पुसमा यो विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ पुसबाट सबै नियमित उडान आन्तरिक वायुसेवाले यही विमानस्थलबाट गरेका थिए ।
आज दुर्घटनामा परेको विमानलाई क्याप्टेनद्वय कमल थापा र अञ्जु खतिवडाले उडाएका थिए । यो विमान काठमाडौंबाट उडेको १८ मिनेटमै दुर्घटनामा परेको थियो ।
नेपाली आकाशमा भएको विमान दुर्घटना नेपालमा भएका मल्टिइन्जिनको विमानमा ५० औं दुर्घटना हो ।
यसअघि विभिन्न कम्पनी मल्टिइन्जिनका विमान ४९ वटा दुर्घटनामा परेका छन् ।
हेर्नुहोस्, विवरण :



