
काठमाडौं, ४ भदौ — पुएर्तो रिकोका गायक लुइस फोन्सीको स्पेनी भाषाको गीत ‘देस्पाचितो’ ले युट्युबमा तीन अर्ब ३० करोडभन्दा बढी भ्युज पाइसकेको छ ।

सन् १९९६ मा आएको माकारेना गीतपछि यो नै स्पेनी भाषाको सर्वाधिक हिट गीत हो । पैंतालीस देशहरूका म्युजिकल चार्टमा यो शीर्ष स्थानमा रह्यो ।
यही वर्षको जनवरीमा आएको गीतमा फोन्सीका अलावा ड्याडी यान्कीको पनि स्वर छ ।
किन यो गीत यत्ति हिट भयो त ? गीतमा परम्परागत गितार प्रयोग गरिएको छ अनि यसमा ल्याटिन, क्यारिबीयन र मूलधारको पपको प्रभाव छ ।
यसमा –याप कविता र क्याची मेलोडी छ र यसको स्पेनी शब्दले पनि यसको आकर्षण बढाएको छ ।
लुइस फोन्सी र ड्याडी यान्की ल्याटिन पपका सुपरस्टार हुन् । उनीहरूको ओरिजिनल गीत त हिछ भयो नै, यसको रिमिक्स गीतमा सुपरस्टार जस्टिन बीबरले पनि स्वर दिएपछि त यो गीत झनै बम्पर हिट भयो ।
यसमा भारी बीटहरू, चर्को भोकल, तीव्र र फुलबुट्टे शब्द, मिहिन गितारका धुन र विविध मेलोडी छन् ।
तर यसको सबभन्दा बलियो पक्ष भनेको यो क्याची छ । एकजना किशोरीले बजारमा सबै कुरा फ्याँकेर यो गीतको धुनमा नाचेको भिडियो पनि लाखौंजनाले शेयर गरेबाटै यसको क्याचिनेसलाई पुष्टि गर्छ ।
एजेन्सी