
कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलो पटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्ने जनाएको हो । अस्पतालले पत्रकार भेटघाटमार्फत अस्पताल निर्देशक डा. खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए ।
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ, उनले भने, “दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ ।” पछिल्लो समयमा मिर्गौलारोगीको सङ्ख्या बढ्दैआएको निर्देशक डा. खड्काले बताए । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र रु सात लाखसम्म सरकार आफैले व्यहोर्ने उनको भनाइ छ ।
पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चार पटक हुने उनले बताए ।
कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उनले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने बताए । यसले चालु आव २०७९÷८० भित्रै रु एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको निर्देशक खडकाको भनाइ छ । रासस