
सुत्केरी मसला नेपालमा मात्र नभएर विदेशमा समेत माग हुन थालेको छ । यो मसला जाडो मौसममा झन् धेरै खपत हुने व्यापारीहरूको भनाइ छ ।
गुदपाक शैलीमा बनाइने यो परिकार विशेषगरी सुत्केरीलाई तयार गरिने भए तापनि जो कोहीले खाँदा स्वास्थ्यका लागि फाइदै–फाइदा हुन्छ । यो मसला हाम्रो परम्परागत रैथाने मौलिक परिकार हो ।
यो धेरै औषधीय जडिबुटी र मसला, घ्यू, खाद्य गम, खुवा (गाढा र केन्द्रित दूध), गुड र मूंगफली, बीउ र सुक्खा फल (बदाम, काजू, पिस्ता, नरिवल, खजूर, किसमिस आदि) को मिश्रण गरेर बनाइन्छ । बत्तीसा पाउडर (३२ आयुर्वेदिक जडिबुटी र मसलाको पाउडर मिश्रण) यो सुपर फूडको अर्को महत्त्वपूर्ण घटक हो ।
के महिला, के पुरुष सबैका लागि सबैले खान मिल्छ यो परिकार । सुत्केरी मसलामा आयुर्वेदिक जडिबुटी तथा मसलाहरूको मिश्रण भएकाले तपाईंको रोगसँग लड्ने क्षमतालाई बढाउनुका साथै तपाईंलाई सधैं तन्दुरुस्त राख्दछ । महिला–पुरुष दुवै वर्गका लागि उपयोगी यो परिकारले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि धेरै मद्दत पुर्याउँछ । आमाको सुत्केरी मसला, मामाको सुत्केरी मसला, कोशेली सुत्केरी मसला, हेल्दी सुत्केरी मसला, अर्ग्यानिक सुत्केरी मसला, स्वास्थ्यबर्द्धक सुत्केरी मसला धेरै ब्राण्डले यो परिकार चिनिन थालेको छ ।
पौष्टिक आहारले भरिपूर्ण यो परिकार बच्चादेखि बूढाबूढीलाई समेत एक सम्पूर्ण आहार मानिन्छ । रोग प्रतिरोधात्मकताको लागि पनि उपयोगि मानिएको छ । अथाहा जडिबुटीको मिश्रणबाट बनाइने यो परिकार आयुर्वेदिक हिसाबले पनि पौष्टिक र स्वास्थ्यबर्द्धक मानिन्छ ।

हिमाली बत्तीसा चुर्ण मिसाएर बनाउने हुँदा पनि यो पोषिलो र स्वादिष्ट मानिन्छ । बत्तीसा चुर्ण अमला, बेल, अर्जुना, हर्रो, बर्रो, काफल, दाल्चीनी, काउसो, जीरा, गुर्जु, जेठीमधु, कचुर, ज्वानो, कुरिलो, मझितो, कोइरालो, नागकेसर, मरिच, नगरमोथे, पखन्भेद, पुनरनभा, पिप्ला, सतवार, शंखपुष्पे, सुठो, सिमल, ठूलो ओखती, तेजपात लगायतका जडीबुटीहरू मिसाएर बनाइएको हुन्छ । बत्तीसा आफैंमा पनि एक आयुर्वेदिक दवाइ मानिन्छ । बत्तीसा चुर्ण सुत्केरी मसलामा हाल्नैपर्ने हुनाले यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

कसरी तयार गर्ने सुत्केरी मसला ?
सुत्केरी मसला बनाउन चाहिने सामग्रीः दूध १ लिटर, मिस्री ३ चम्चा, दालचिनी ७ ग्राम, मरिच ३ ग्राम, ल्वाङ २ ग्राम, सुकमेल ७ ग्राम, जाइफल १ पिस, काजु ७० ग्राम, ठूलो बदाम ६० ग्राम, ओखर ५० ग्राम, नरिवल ४० ग्राम, बत्तीसा पाउडर ३ चम्चा, शुद्ध घ्यू २५० ग्राम, मेथी २ चम्चा, ज्वानो २ चम्चा, किसमिस ७० ग्राम, गुद ६० ग्राम, खुवा १२० ग्राम, मेलोन सिड्स (खर्बुजाको दाना) ४० ग्राम, छोगडा ५० ग्राम, पिस्ता ३० ग्राम, मखना ७० ग्राम, खुबनी ५० ग्राम, पहाडी बदाम, फिग (अन्जिर) ३० ग्राम, पुर्निज (आरुबखडा) ४० ग्राम, जामुन २० ग्राम ।

सुत्केरी मसला बनाउने विधिः दिएको सम्पूर्ण गरम मसला र ज्वानोलाई ग्यान्डरमा पिसेर १ भाँडोमा राख्ने । ड्राई फ्रुटलाई क्रयास गरेर अर्को भाँडोमा राख्ने । एक साइडमा दूध उमालेर राख्ने । घ्यूमा गुद, किसमिस छुट्टाछुट्टै फुराएर अर्को भाँडोमा राख्ने । बाक्लो भाँडोमा बाँकी घ्यू तताएर मेथि फुराउने र बत्तीसा पाउडर भुटेर गरम मसला पाउडर र ड्राइ फ्रुटको क्र्यास हाल्दिने । केहीबेर भुट्नासाथ दूध, खुवा, मिस्री हाली सानो आँचमा २५–३० मिनेट घोटेर पकाउने । अन्त्यमा किसमिस, गुद हाली पुनः एकछिन पकाउने । यदि लामो समयसम्म भण्डारण गर्ने हो भने खुवा नहाल्दा हुन्छ । यसरी तयार भएको सुत्केरी मसला सुत्केरी भएको ११ दिन पछाडि दिनमा २–२ चम्चा खुवाउन सकिन्छ । यो मसला खुवाउँदा आमाको शरीर बानिने, दूध आउने र सर्दी नलाग्ने हुन्छ । यो मसलाको परिकार सुत्केरीले मात्र नभई जो कोहीले खाँदा पनि फाइदा पुग्छ । च्यबन्प्रासभन्दा धेरै गुणा यो परिकारले फाइदा पुग्ने आयुर्वेदका विज्ञहरूको भनाइ छ ।
बत्तीसा पाउडर असन या अन्य स्थानको पुरानो–पुरानो खाद्य भण्डार या आयुर्वेदालयमा सजिलै किन्न पाइन्छ । सामग्री जुटाउन सके आफैंले पनि बत्तीसा चुर्ण बनाउन सकिन्छ ।