२६ जेठ २०८३, मंगलबार

जीवन बदल्न ३ मिनेटको ध्यान– कहाँ र कसरी गर्ने ? [भिडियोसहित]

माघ २४, २०७९

ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । 

शान्ति वन अभियान ‘द वे अफ लाइफ’का नाममा उनले ३ मिनेटको ध्यान सिकाउन थालेको दुईदशक पुगेको छ । 

ललितपुरको गोदावारीस्थित उच्च स्थानमा अवस्थित प्राकृतिक वनमा २०५९ मा बुद्ध प्रतिमा स्थापना गर्दै उनले शुरू गरेको ध्यान अभियान अहिले शान्ति वनका नाममा विभिन्न स्थानमा फैलँदै गएको छ । 

ललितपुरको गोदावरीसँगै काभ्रेको धुलिखेल र लुम्बिनीमा शान्ति वन संस्थागत भइसकेको छ । शान्ति वनलाई देशबाहिर समेत फैलाउने अभियानमा जुटेका छन्, उनी । 

समयक्रम र मानिसहरूको व्यस्ततालाई मध्यनजर गर्दै आफूले छोटो समयको ध्यान सिकाउने गरेको शान्ति वन अभियानका संस्थापक डा. बज्राचार्य बताउँछन् । 

‘पहिले–पहिले र अहिले धेरै कुरामा परिवर्तन आएको छ । अहिलेका मानिसहरूले व्यस्तताको जीवन बिताइरहेका छन्,’ उनी भन्छन्, ‘समय र मानिसहरूको व्यस्ततालाई ध्यानमा राखेरै ३ मिनेटको ध्यान सिकाउँदै आएको हुँ ।’ 

लामो समय बस्दा ध्यान हुने, छोटो समय बस्दा नहुने भन्ने नरहेको उनी बताउँछन् । 

किन आवश्यक छ ध्यान ?

हिजोआज मानिसहरूलाई देख्दा लाग्छ, उनीहरूसँग फुर्सद नै छैन । उनीहरू व्यस्तताको जीवन व्यतीत गरिरहेका छन् । व्यस्त जीवनमा मानिसहरूको जीवनशैली भने झनझन् अव्यवस्थित बन्दै गइरहेको छ । 

बढ्दो व्यस्तता र अव्यवस्थित जीवनशैलीले मानिस अक्सर तनावमा रहने गरेको देखिन्छ । तनावमुक्त जीवन र मनलाई शान्त पार्नका लागि ध्यान आवश्यक रहेको ध्यानगुरुहरू बताउने गर्छन् । 

डा. बज्राचार्य क्रोध, ईर्ष्या र लालच हटाउँदै तनावमुक्त जीवन व्यतीतका लागि ध्यान आवश्यक रहेको बताउँछन् । यी कुराहरूले मानिसलाई दुखी बनाउने ती कुराहरू हटाउँदै मनलाई शान्त पार्न ध्यान आवश्यक रहेको उनको भनाइ छ । डा. बज्राचार्य भन्छन्, ‘ध्यान तन, मन र मष्तिष्कलाई ऊर्जा दिने एउटा स्रोत हो ।’ 

कसरी गर्ने तीन मिनेटको ध्यान ?

तीन मिनेटको ध्यान जहाँ र जतिबेला पनि गर्न सकिन्छ । घरमा, अफिसमा, एक्लै एवं मासमा पनि ध्यान गर्न सकिने डा. बज्राचार्य बताउँछन् । तर, ध्यान गर्दा मेरुदण्ड भने सिधा बनाउनुपर्छ । 

‘जबसम्म मेरुदण्डलाई सिधा बनाउन सक्दैनौं, तबसम्म राम्रोसँग ध्यान हुन सक्दैन,’ उनी भन्छन्, ‘त्यसपछि हातको बज्र औंला (चोरी औंला) र बुढी औंलाबीच स्पर्स गर्नुपर्छ । यसले मस्तिष्कलाई ऊर्जा दिन्छ । यसैको ऊर्जाबाट हामीले ध्यान प्राप्त गर्न सक्छौं ।’

मानिसलाई १ सय २० वर्ष बाँच्न सक्ने बनाउने सोच

डा. बज्राचार्य मानिसलाई १ सय २० वर्षभन्दा बढी बाँच्न सक्ने बनाउने आफ्नो ध्यानको उद्देश्य रहेको बताउँछन् । 

‘म बुढो भएँ, अब मेरो जीवन भगवानको हातमा हो भनेर छाडिदिने भए अर्कै कुरा भयो । नत्र हामीले आफ्नो शरीर, मन र मस्तिष्कलाई राम्रो राख्न सक्यौं भने यो सम्भव छ । तनावमुक्त जीवन बिताउन सक्यौं भने हामी १ सय २० वर्ष बढी बाँच्न सकिन्छ,’ उनले भने ।

एकअर्कासँग जोडिएर, भर परेर अगाडि बढ्न सके आफूले लिएको उद्देश्य पूरा हुन सक्ने उनी बताउँछन् । 

उनी ‘सिक्री’को उदाहरण दिँदै अगाडि थप्छन्, ‘सिक्री एउटा टुक्राले बन्दैन । त्यसको एक टुक्रा काम लाग्दैन । सिक्री बन्नका लागि एकअर्कासँग जोडिएर जानैपर्छ । त्यसैगरी हामीहरू जोडिएर गयौं भने चेन लाइफ बाँच्न सक्छौं ।’ 

‘मान्छे भएर जन्मनु नै सबैभन्दा ठूलो भाग्य’

पछिल्लो समय मानिसहरू विभिन्न कारणले तनावमा देखिन्छन् । तनावका कारण कतिपयले गलत कदम समेत चालिरहेको पाइन्छ । 

डा. बज्राचार्य मान्छे भएर जन्मिनु भनेकै सबैभन्दा ठूलो भाग्य भएको आम मानिसले बुझ्नुपर्ने बताउँछन् । 

‘कतिपयले आफूलाई मेरो भाग्य छैन समेत भन्नुभएको पाउँछु । म मान्छे भएर जन्मिएको छु, यो भनेकै सबैभन्दा ठूलो भाग्य हो भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘हामी मान्छे भएर जन्मिनुभन्दा ठूलो भाग्य अरू छैन । हाम्रो समय अमूल्य छ । हाम्रो एक मिनेट पनि भाग्यमानीको समय हो भन्ने बुझ्नुपर्छ ।’

सकारात्मक सोचले मानिसलाई सफल बनाउने उनले बताए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्