
प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाडौंको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरूको कलात्मक समायोजन र फूलहरूको सजावटले अझ प्रेमिल बनेको पल ।
मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका हुन् अनि आपसमा प्रेम साट्न आएका हुन् ।
गुलाबी रातो र कालो रंगको पोशाकमा सजिएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ शुरू भयो । कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा दिइएको मन्द प्रकाशमा फिस्स हाँस्दै शुरू भयो चौधरीको बहुप्रतिक्षित एकल कविता वाचन ‘कवितासँग बसन्त’ ।
स्वास्थ्य समस्या लगायतका कारण झण्डै साढे ३ वर्षको निष्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा यसपटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए ।
‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग १ घण्टा पोखिए ।
सो क्रममा उनले १ दर्जन बढी कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए ।
चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हाँस्य एवं रोदन अर्थात् प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् । यस्तै विशेषता यसपटकको प्रणय दिवसमा प्रस्तुत रचनाहरूमा समेत झल्कियो ।

सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हाँसो, सुखदुख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शितल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरासरी गतिमय पनि,’ उनले भने, ‘जब मेरा भावनाहरूले शब्द उच्चारण गर्छन् अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’
समर्थनमा दर्शकदीर्घाबाट पर्रर तालि बज्यो ।
सो क्रममा कवि चौधरीले आफूले शुरू गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोष समेत गरे ।
सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करीब डेढ सय जनाले उनका २ वटा पुस्तक ‘मेरा गीत’ –गीतहरूको संग्रह) तथा ‘जीवनमन्त्र–२’ (सुक्ति संग्रह)को सामूहिक लोकार्पण समेत गरेका थिए ।
बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो ।
नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरू सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरूको संग्रह ‘तिमी बिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमी बिनाको म’सम्म उनका १ दर्जन कृतिहरू प्रकाशित छन् ।