३० असार २०८३, मंगलबार

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ ।

आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गरेका हुन् ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठको कृतिको समीक्षा गरेका थिए । 

कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । अग्रजदेखि अहिलेको पुस्ताका दुई दर्जन बढी नेपाली स्रष्टाका कृतिको समालोचना यसमा गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गरेका छन् ।

समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गरेका थिए ।

लेखक मैनालीले आफूले साहित्यिक समालोचनाको शुरूआत एसएलसी पास गरेपछि नै गरेको स्मरण गरे ।

‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उनले बताए ।

२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उनले जानकारी दिए ।

मैनालीका 'अवसाद' 'अभिनयी' (निबन्धसंग्रह), 'आँखाभरि रमिता मनभरी वेदना' (नियात्रा), 'युगकवि सिद्धिचरण: कृति र प्रवृत्ति विश्लेषण' (समालोचना), 'अपेक्षा र अनुभूति' (सामयिक निबन्ध), 'घाउ आफैलाई दुख्छ' (निबन्धसंग्रह) लगायत कृतिहरू यसअघि प्रकाशित छन् ।

salt training

कमेन्ट गर्नुहोस्