०४ साउन २०८३, सोमबार

गोलमटोल राजनीतिले उब्जाएको प्रश्न– हाम्रा नेतालाई चलाउने निर्देशक अन्तै छन् ?

फागुन ८, २०७९
गोलमटोल राजनीतिले उब्जाएको प्रश्न– हाम्रा नेतालाई चलाउने निर्देशक अन्तै छन् ?

चलचित्रमा दर्शकले चिन्ने भनेको हिरो (नायक)लाई हो । त्यसका पात्रहरूलाई चिन्ने हो । फिल्ममा बिक्ने भनेको हिरो हो । फिल्मको निर्देशकलाई कसैले चिन्दैनन् । 

अहिले नेपालको राजनीतिमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरू चाहे ती कांग्रेस, एमाले वा माओवादी हुन् या अन्य साना दलका नेता । उनीहरू केबल सिनेमाका पात्रहरू जस्तै राजनीतिक रंगमञ्चमा चिन्ने र देखिने पात्र मात्र बन्न पुगेका छन् । ती दलका निर्देशक सिनेमाको जस्तै पर्दापछाडि छन् । 

प्रतिनिधिसभा निर्वाचनमा कुनै दलले सरकार निर्माण गर्न स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नेपालको राजनीतिमा देखिएको चरित्र, विचार एवं अभिव्यक्तिले र विचलनले यस्तै संशय र प्रश्न उठ्छ । 

चुनावअघि शेरबहादुर देउवा नेतृत्वको सरकारको पालमा निर्वाचन गठबन्धन र त्यसपछि पनि यथावत रहने प्रतिबद्धता कांग्रेसलगायत सबै दलले गरेका थिए । 

सरकारको नेतृत्व गर्ने विषयमा मतान्तर हुँदा पाँचदलीय गठबन्धन भंग भयो । एमालेको नेतृत्वमा अर्को सातदलीय गठबन्धन बन्यो र सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा पुग्यो । 

चुनावले जस्तो आकारको संसद् बनायो त्यसलाई हेर्दा संसदीय राजनीतिमा सत्ता समीकरण फेरिनु कुनै आश्चर्यको विषय भएन । आश्चर्यको विषय त विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई मत दिनु देखियो । 

अहिले राजनीतिमा चर्चा भएजस्तो कांग्रेसले राष्ट्रपति पद प्राप्तिका लागि विश्वासको मत दिएको र राजनीति सन्तुलनकै लागि यस्तो गरिएको हो भनिए पनि यो तर्कमा सहमत हुने ठाउँ छैन । माओवादी पार्टी र प्रचण्डको विश्वास गर्न सकिँदैन । 

आखिरमा प्रचण्ड सरकारलाई विश्वासको मत दिनु नै थियो भने पाँचदलीय गठबन्धन रहँदै प्रचण्डको नेतृत्वमा सरकार निर्माण कांग्रेस किन मानेन ? निकट विगतमा माओवादीले दिएको धोका बिर्सेर कांग्रेसले विश्वासको मत किन दियो ?

ओम आचार्य


यही प्रश्न र अन्य संशयले राजनीतिक दलका निर्देशक बाहिर छन् कि भनेर आशंका पैदा गरिदिएको छ । प्रश्न उठ्छ, दलका पदाधिकारी देखिने पात्र मात्र हुन् ?माओवादीभित्र पनि अवस्था उस्तै छ । प्रचण्ड पाँचदलीय गठबन्धन भंग गरेर सातदलीय गठबन्धन गर्दै सरकारको नेतृत्व गर्न पुगे ।

कांग्रेसबाट समेत विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिको नाममा सातदलीय गठबन्धनको आवरणभित्र नरही आफ्नो अनुकूलको राजनीति गर्न उद्धत छन् । यसैको उदाहरण हो ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा । 

अहिले राजनीतिक दलमा इमान्दारिता, चारित्रिक अनुशासन र विश्वासमा विचलन मात्रै आएन ती राजनीतिक दलको धर्म, विचार र सिद्धान्त समेत स्खलन हुँदै गएको छ । माओवादीले सरकार निर्माण गरेदेखि त्यो पार्टीको फेरिएको बोली र सातदलीय गठबन्धनको आवरणभित्र नरहने राजनीतिक शैलीले माओवादीका नेताहरू देखिने पात्र मात्र हुन्, निर्देशक अरू कोही हुन् कि भन्ने आशंका उब्जिएको छ ।

एमाले पनि निर्वाचनको समयदेखि नै राप्रपालगायत अन्य राजनीतिक दलसँग गठबन्धनमा थियो । चुनावपछि माओवादीसहितको सातदलीय गठबन्धन बनायो । एमालेले सात दलसँग गरेको गठबन्धन र तिनीहरूको शर्त स्वीकार गर्नु पनि उदेकलाग्दो पक्ष छ । कुनै दल संघीयताविरोधी, कुनै राजावादी र हिन्दूराज्यका पक्षधर, तर पनि गठबन्धन बनेको छ । यस्तो दृश्यको आकलन हुँदाहुँदै गठबन्धन गर्नुको अर्थ के हो ? के एमालेका नेताहरू देखिने पात्र मात्र हुन्, अनि यिनीहरूको पनि निर्देशक अरू कोही छन् ?

केही दिनअघि पूर्वराजाले झापामा गएर मेची–महाकाली अभियान शुरू गरे । विवादास्पद पृष्ठभूमिका दुर्गा प्रसाईंको लगानी रहेको त्यो अभियानमा ‘राजा आऊ, देश बचाऊ’को नारा लाग्यो ।

सत्ता सञ्चालनमा देखिएको अराजकताका कारण राजतन्त्रको नारा लाग्नु मूलधारका राजनीतिक दलका लागि चुनौती हो । दुर्गा प्रसाईंले राजालाई लगेर शुरू गरेको अभियानविरुद्ध कुनै पनि राजनीतिक दलले बोलेनन्, मौनता साँधे । एमाले र कांग्रेस दुवैलाई राष्ट्रपति पद चाहिएको छ । राष्ट्रपति पदका लागि यसरी मौनता साँध्नु यी राजनीतिक दलहरूलाई महंगो पर्न सक्छ ।चुनावमा १८ सीट जिते पनि सरकारको नेतृत्व पाएको माओवादीलाई अहिले सुवर्ण अवसर भएको छ । प्रचण्ड नेतृत्वको सरकार अझ गृह समेत उनकै जिम्मामा रहेको समयमा राजाले ‘मेची महाकाली अभियान’ शुरू गर्नु अनौठो संयोग बनेको छ । राजनीतिक दलप्रतिको अविश्वासका कारण अहिले राजावादीको चलखेल बढ्दै गएको छ । 

वर्तमान राजनीतिको शैली र रणनीति हेर्दा सबै राजनीतिक दल प्रतिगामी पथमा उन्मुख त छैनन् ? भन्ने प्रश्न उब्जिएको छ ।

उनीहरूको सिद्धान्त र आदर्शमा काफी विचलन आएको छ । जनतालाई सुशासन र विकास दिन्छौं भन्ने दलहरू किन अलमलमा छन् ? अहिलेका नेताहरू केबल देखिने पात्र मात्र हुन्, अनि यिनीहरूको निर्देशक अन्त कतै छन् ? देशमा भइरहेका तमाम समस्या बिर्सेर नेताहरू सत्ताको लुछाचुँडीमा लागिरहेको परिदृश्यले आशंका उब्जाएको छ । ​

salt training

कमेन्ट गर्नुहोस्