
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भावी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने पक्का भएको छ ।
पार्टीले सर्वसम्मतरूपमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेललाई कांग्रेस र प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहित ८ दलको समर्थन रहने भएको छ ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको शुक्रवार बसेको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको थियो । यी ८ दल मिल्दा राष्ट्रपतिका लागि स्पष्ट बहुमत पुग्छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । त्यसका लागि शनिवार उम्मेदवारी मनोनयन तोकिएको छ ।
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा ( तनहुँको मिलुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका– ८) जन्मिएका पौडेल ७९ वर्षका भए ।
पछि सविता पौडेलसँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । पौडेलको स्थायी बसोवास व्यास नपा–२ अमरापुरी, दमौली हो भने काठमाडौंमा उनको बसोवास बोहोराटार बालाजुमा रहेको छ ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । २०१५ सालमा विद्यार्थी संगठनबाट कांग्रेससँग जोडिएका पौडेल त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् ।
राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करीब १५ वर्ष उनले जेलमा बन्दी जीवन व्यतित गरेका छन् । त्यसलाई कांग्रेसभित्र ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर भन्ने गरिन्छ ।
शुरूमा २०१८ को भरतपुर काण्डको विरोधमा उत्रँदा गिरफ्तार गरी कारागार चलान गरिएको थियो । पछि रिहा भएलगत्तै कीर्तिपुर विश्वविद्यालयमा झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा २०२८ मा पुनः गिरफ्तार भई २०३२ सम्म जेल बस्नुपरेको थियो ।
पार्टीको केन्द्रीय राजनीतिमा भने उनी २०३४ सालबाट क्रियाशील छन् । ०३४ मा पहिलोपटक केन्द्रीय सदस्य बनेका पौडेल उपसभापति हुँदै २०७२ सालमा पार्टीको कार्यबाहक सभापति बनेका थिए । सभापतिमा पराजित भए पनि पार्टीको १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको जश उनलाई जान्छ ।
२०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं. २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९)मा तनहुँबाट प्रतिनिधि सभा तथा संविधानसभा सदस्य निर्वाचित पौडेल पहिलोपटक स्थानीय विकास मन्त्री, त्यसपछि कृषि तथा सहकारी, उपप्रधान तथा गृहमन्त्री, सञ्चार मन्त्री, जलस्रोत मन्त्री, शिक्षा मन्त्री र शान्ति तथा पुनः निर्माणमन्त्री बनिसकेका छन् । उनी २०५१ सालको प्रतिनिधिसभामा सभामुख बनेका थिए ।
जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ तथा मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कारबाट पुरस्कृत पौडेलका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा लेख रचना प्रकाशित छन् ।
नेपाली कांग्रेसभित्रकै मध्यमार्गी नेताकारूपमा परिचित पौडेलले पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइरालाको अत्यन्त निटक रहेर काम गरेका थिए । पार्टीका शीर्ष नेताहरूबीच विवाद हुँदा त्यसलाई मिलाउन मध्यमार्गी भूमिकामा पौडेल सधैं रहँदै आएका थिए ।
तत्कालीन विद्रोही नेकपा (माओवादी)सँग १२ बुँदे सहमति र शान्ति सम्झौताका पक्षपाति पौडेल पछिल्लोपटक ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्राधार समेत हुन् । २०७९ मंसिर ४ को आम निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउनु पर्छ भनेर निरन्तर लबिङ रहेका पौडेल पूर्व सहमति अनुसार प्रचण्डलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिनुपर्छ भन्नेमा दृढ थिए ।
पुस १० मा गठबन्धन टुटेपछि पौडेलले प्रचण्डका कारण गठबन्धन टुटेको हैन, कांग्रेसकै गल्ती हो भन्दै आएका थिए । त्यसयता पौडेल चुनावअघिको गठबन्धन बनाउन निरन्तर क्रियाशील थिए ।
अब पौडेल पुरानो गठबन्धन र नयाँ थपिएका केही दलसमेतका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । पौडेललाई समर्थन गर्ने निर्णय गरेका दलहरूको मतभार जोड्दा स्पष्ट बहुमत पुग्छ ।
नयाँ राजनीतिक उलटफेर नभएमा पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नेछन् ।