अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ ।
अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा अर्घाखाँचीको ठूलापोखरामा जन्मिएका पौडेल शुरूमा सामान्य थिए ।
११ वर्षको उमेरमा टाइफाइड बिग्रिएर पौडेल शारीरिक रूपमा अशक्त हुन पुगे ।

उनलाई ठीक पार्नका बुवाले धेरै अस्पताल लगे, तर निको भएन । ‘म ठीक नभएको देखेर मेरै पीरले बुवाको पनि मृत्यु भयो,’ पौडेल सम्झन्छन् ।
शारीरिक अशक्तताका कारण उनी न हिँड्न सक्छन्, न कसैको सहयोगविना कुनै काम गर्न ।
कक्षा ५ मा पढ्दै गर्दा उनी ओछ्यानमा परेका थिए । आफ्नो पढाइ अगाडि बढाउन सकेनन् । त्यसपछि उनको दैनिकी ओछ्यानमै बित्यो । खाना खानेदेखि शौचालय जानेसम्मका काम अरूको सहायताबाट गर्नुपर्यो ।

आफ्नो शारीरिक अवस्थाबाट उनी अलिकति पनि विचलित भएनन् ।

‘शरीर पो यस्तो भयो, तर म मरेको छैन नि ! मेरो मष्तिष्क त ताजै छ नि भन्ने सोच बनाएँ । मैले पढ्न नपाएपनि आफ्नो गाउँवरपरका बालबालिकालाई पढाएर शिक्षित बनाउने सोच बनाएँ,’ पौडेलले भने ।
त्यही अठोटका साथ उनले आफ्नो घरको आँगनमै विद्यार्थी भेला गरेर पढाउन शुरू गरे । उनी गणित र नेपालीमा अब्बल थिए । यसरी पढाउँदापढाउँदै उनी शिक्षक बने ।

कृष्णप्रसाद पौडेलले समाजलाई गरेको योगदानको कदर गर्दै सरकारले उनी संस्थापक रहने गरी निमाविसम्मको विद्यालय खोलिदियो ।
शैक्षिक योग्यता नपुगेको हुनाले उनी स्वयं भने दरबन्दीको शिक्षक बन्न पाएनन् ।
शारीरिकरूपमा अशक्त रहे पनि पौडेलले ४२ वर्ष निःशुल्क शिक्षण पेशामा बिताए । विद्यार्थीले नै बोकेर उनलाई स्कूलसम्म पुर्याउँथे ।

खाना नलीको समस्याका कारण उनी अहिले उपचारको सिलसिलामा काठमाडौं आएका छन् ।

बाँकी कथा भिडियोमा :