
महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो ।
सोमवार विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए ।
‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ,’ उनले भने, ‘विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।’
उनका अनुुसार चैत ११ गतेसम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते तोकेको निर्वाचनमा अन्य ५ वटा आंगिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ ।
चैत ८ गते सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आंगिक गरी १६ क्याम्पस छन् ।