कलंकी–कोटेश्वर खण्डअन्तर्गत खसीबजारदेखि बल्खुसम्मको सडकको 'सर्भिस लेन' डोजर लगाएर भत्काउन थालिएको छ ।
करीब साढे २ किलोमिटर सडकको पिच भत्काएर पुन: नयाँ पिच गर्न लागिएको हो ।
सामान्य रूपमा हेर्दा ठीकठाक देखिएको सडक एकाएक डोजर लगाएर भत्काउन थालिएपछि सर्वसाधारणले आश्चर्य व्यक्त गरिरहेका छन् ।

सो लेन भत्काएर नयाँ पिच गर्नका लागि पी.आर कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
'सडकमा कतै खाल्डाखुल्डी र पानीले पिच दबेका कारण भत्काएर नयाँ पिच गर्न लागिएको हो । यदि यसलाई माथिबाट मात्र सम्याएर पिच गर्ने हो भने तलको ग्राभेल झनै दब्छ, त्यसैले यो पिचलाई पूरै उप्काएर बाक्लो र राम्रो पिच गर्न लागेको हो,' पी.आर कन्स्ट्रक्सनका इन्जिनीयर महेश कार्कीले लोकान्तरसँग भने ।

खसीबजारबाट बल्खुतर्फ आउँदा बायाँतर्फको उक्त सर्भिस लेन भत्किरहँदा दायाँतर्फको लेन भने लामो समयदेखि अलपत्र छ ।

बल्खुदेखि कोटेश्वरसम्मको खण्डमा पनि सर्भिस लेन भत्काउने तयारी रहेको ती इन्जिनीयरले बताए ।
त्यसका लागि थप दुईवटा खण्डका लागि वर्ल्डवाइड कन्स्ट्रक्सन र एसके कन्स्ट्रक्सनले ती लेनलाई पिच गर्ने गरी जिम्मा पाएका छन् ।
हेर्नुहोस्, भिडियो :


