२९ असार २०८३, सोमबार

गीतकारको फिल्म लेखन यात्रा

...अनि ‘परदेशी २’ लेखे
चैत ११, २०७९
गीतकारको फिल्म लेखन यात्रा

कुनै बखत प्रत्यक्ष दोहोरी गायनमा रमेश बिजीको सक्रियता ज्यादा थियो । स्थानीय तथा राष्ट्रिय स्तरका थुप्रै दोहोरी प्रतियोगितामा भाग लिएर छन् उनले अनि दोहोरी गाएर धेरैपटक पुरस्कार पनि हात पारेका छन् ।
 
अग्रज संगीतकार नारायण रायमाझी, गायक पुरुषोत्तम न्यौपानेसँग रमेशको चिनजान दोहोरी प्रतियोगिताकै क्रममा भएको थियो २०६०–६१ सालतिर । 

रमेश प्रतियोगिताहरूमा भाग लिएर दोहोरी गाउँथे, जहाँ निर्णायक उनै रायमाझी, न्यौपाने लगायत हुन्थे । उनीहरूकै प्रेरणाले रमेशले गीत लेखन शुरू गरेका थिए ।

‘तपाईंले यति मिठा गीतहरू गाउनुहुन्छ । यी गीत अरुले यस्तै प्रतियोगितामा सुन्ने मात्रै हुन्छ, त्यो लिपिबद्ध भयो भने गीत रेकर्ड गर्न सकिन्छ, गीतहरू लेख्ने गर्नुस् भनेर प्रोत्साहन गर्नुभयो,’ रमेश संगीतकार एवं निर्देशक रायमाझीले त्यसबेला गरेको प्रोत्साहन सम्झिँदै अगाडि भन्छन्, ‘त्यसपछि ‘लाइछौ बेसन’ बोलको गीत लेखें । पहिलो गीत नै रुचाइयो ।’ पुरुषोत्तम न्यौपानेका लागि पनि रमेशले थुप्रै गीतहरू लेखेका छन् । 

एकपछि अर्को गीतबाट रमेशले सफलता पाउँदै गए । चर्चित गायकगायिकाहरूको स्वरमा उनले लेखेका गीतहरू रेकर्ड हुँदै गए । सांगीतिक क्षेत्रमा उनी खोजिने मध्येका गीतकार कहलिँदै गए । रमेशले लेखेका ‘सुनपानीले छर्क मायालु’, ‘सररर पानी घट्टमा’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘तीते करेलीले’, ‘देउरालीमा धजा’, ‘चिया छानेको’ इत्यादि लोकदोहोरी गीतहरू निकै हिट छन् ।

लोकदोहोरीमा मात्र होइन, उनले लेखेका तीजका गीतहरू पनि रुचाइएका छन् । सुगम संगीतमा पनि उनले एक किसिमको सफलता पाएका छन् । 

रामकृष्ण ढकालको स्वरमा रहेको ‘म हुरीमा दियो’ गीतलाई स्रोता/दर्शकले अत्याधिक रुचाए ।

यता फिल्मी गीतमा पनि रमेशका शब्दहरू रुचाइए । ‘गोर्खापल्टन’को ‘सान्नानीले झुक्यायो मलाई’, ‘परदेशी’को ‘कालो बादल निलो आकाशमा’ ईत्यादि रमेशले लेखेका रुचाइएका फिल्मका गीतहरू हुन् । अहिले पनि उनले लेखेका गीतहरू निरन्तर आइरहेका छन्, स्रोता दर्शकले रुचाइरहेकै छन् ।

गीतकारको फिल्म लेखन यात्रा

अहिले रमेश गीतकार मात्र होइन, फिल्म लेखक समेत भइसकेका छन् । आफूमा सानैदेखि रहेको कथा एवं उपन्यास लेखनप्रतिको रुचिका कारण फिल्म लेखनमा आउन सहज भएको उनको भनाइ छ । 

‘कथा एवं उपन्यासहरू सानैदेखि पढ्ने गर्थें, लेख्ने प्रयास गर्दथें,’ उनले भने, ‘नछापिएका मात्रै हुन्, थुप्रै कथा एवं उपन्यासहरू डायरीको पानामा संग्रहित छन् ।’

रमेशले सानैदेखि नेपाली फिल्महरू हेरे । विदेशी फिल्महरू पनि फाट्टफुट्ट रूपमा हेर्ने गर्थे । त्यसबखत उनलाई नेपाली फिल्मको पटकथा एकदमै कमजोर हो कि भन्ने लाग्थ्यो । ‘आँखिर किन राम्रो हुँदैन होला ?’ उनको मनमा खेलिरहन्थ्यो ।

उपन्यास र फिल्ममा के फरक हुन्छ ? उनले बुझेको कुरा थियो, ‘उपन्यासमा हरेक किसिमको भावनाहरू व्यक्त गर्ने गरिन्छ । प्रकृतिको बयान गरिन्छ । अथवा कुनै कुराको बयान गरिन्छ । फिल्ममा चाहिँ पटकथा हुने भयो । हरेक डायलग बोलिने भए ।’

संगीतकार एवं निर्देशक रायमाझीसँग निकट भएपछि रमेशको सहकार्य निरन्तर चलिरहेको थियो । रायमाझीले निर्माण गर्ने कतिपय भिडियोका लागि चाहिने संवादहरू समेत रमेशले लेखेका थिए । ​

उनै संगीतकार रायमाझी आफ्नै निर्देशनमा ‘गोर्खा पल्टन’ फिल्म निर्माणको तयारीमा लागे, जसमा गीतहरू लेख्ने जिम्मा रमेशको काँधमा पनि आयो । यसमा गीत लेखन अलि फरक तरिकाले गर्नुपर्ने थियो । ‘कथा हेर्दै बीचमा गीत राख्नुपर्ने थियो,’ रमेशले भने, ‘यसरी काम गर्दा फिल्मको स्टोरी पढ्नुपर्ने भयो । त्यसबाट एउटा फिल्म म पनि लेख्छु भन्ने आँट मलाई आएको थियो ।’ 

‘गोर्खा पल्टन’ सुपरहिट भएपछि रायमाझी ‘परदेशी’को तयारीमा थिए ।  उनले फिल्म लेखनको समयमा पटकथा हेर्न रमेशलाई दिएका थिए । रायमाझीले सुरू गरेको ‘परदेशी’को कथा एवं पटकथामा थुप्रै कुराहरू थपघट गर्ने काम रमेशले गरे । यो फिल्मको कथा/पटकथा लेखनमा दुवैको नाम छ ।

यो फिल्म पनि सुपरहिट भइदियो । अब तयारी शुरू भयो ‘परदेशी २’को । रमेशले फिल्मका लागि कथाको ‘प्लट’ निर्देशक रायमाझीलाई सुनाए । युवाहरूको विदेश मोहको कथालाई रायमाझीले चित्त बुझाए र लेखन कार्य शुरू गर्न रमेशलाई आग्रह गरे । यसको पटकथा पनि रमेशले नै लेखेका हुन् । आफूले ३ महिना बढी लगाएर फिल्मको कथा एवं पटकथा तयार पारेको रमेशले बताए ।

कथा/पटकथालाई फाइनल हेर्ने काम निर्देशक रायमाझीले पनि गरेका थिए । फिल्म निर्माण भएर प्रदर्शनका लागि पनि तयार भइसकेको छ । यसअघि फिल्मको टिजर र गीत पनि सार्वजनिक भइसकेको छ, जसले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ । 

फिल्म आगामी दशैंमा प्रदर्शनमा आउँदैछ । कात्तिक ३ गतेका लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टीमले फिल्मलाई राम्रो बनाउन हरसम्भव प्रयास गरिरहेको छ । 

लेखनमा निरन्तरता 

रमेश ‘परदेशी २’ आफ्नो लागि चुनौती भएको बताउँछन् । ‘मैले कथा पटकथामा पूरा जिम्मा लिएको भएर यो मेरो लागि चुनौती हो,’ उनले भने, ‘यो कथा, पटकथा दर्शकहरूलाई राम्रो लाग्यो भने यसले मलाई हौसला दिन्छ ।’ 

आगामी दिनमा पनि फिल्म लेखनलाई निरन्तरता दिने उनले बताए । यद्यपि निर्माता/निर्देशकले लेख्दिनुस् भनेको भरमा मात्रै फिल्म नलेख्ने उनको अठोट छ । 

‘हाम्रो नेपाली फिल्म बिग्रिएको त्यस्तै भएर हो । जबसम्म स्क्रिप्ट राइटरले लेखेका कुरा, उसको मनमा बसेका सिनहरू निर्देशकले बुझ्दैन त्यो फिल्म राम्रो बन्ने सम्भावना कम हुन्छ,’ उनले भने । 

उनी फिल्मको कथा/पटकथा दर्शकको ठाउँमा बसेर तयार पार्नुपर्ने बताउँछन् । ‘केही प्लटहरू छन् । त्यसलाई कथा बनाउन, पटकथा बनाउन बाँकी छ,’ उनले आफ्नो आगामी फिल्म लेखन यात्राबारे भने, ‘तर छलफल गरेर अगाडि बढ्ने, राम्रो निर्देशक भए मात्रै काम गर्छु ।’ रमेशको गीत लेखन यात्रा त अविछिन्न रूपमा अगाडि बढी नै रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्