कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिएका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् ।
मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष अपराह्न सामूहिक राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।
एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए । रासस