![मिर्गौला पीडित आमा–छोराको बेदना– १० वर्षदेखि डायलासिस गर्दागर्दै घरखेत सबै ऋणमा डुब्यो [भिडियो स्टोरी]](https://lktcdn2.prixacdn.net/media/durga_khadka_ORBoTwWdWu.png)
भक्तपुरको सल्लाघारीमा मिर्गौैला पीडितलाई भेट्न पुग्दा उनी घरबाहिर सडकमा हामीलाई लिन कुरेर बसिरहेका थिए । उनको अनुहार सुन्निएको, कम्मरभन्दा मुनिको भाग सुकेको, घाँटीको नशा फुलेको देखिन्थ्यो ।
शुरूमै यस्तो कारुणिक दृश्यको साक्षी बन्यौं । मैले सोधे, हजुर नै हो मिर्गौला पीडित ?’ आफू नै पीडित भएको आशयमा उनले मुन्टो हल्लाए ।
‘भर्खर डायलासिस गरेर कोठा फर्केको सर, अलि गाह्रो भइरहेको छ,’ उनले मलिनो स्वरमा भने, ‘जाउँ हिँड्नुस् मेरो कोठामा, उतै गएर कुराकानी गरौंला ।’ हामी उनको पछि लाग्यौं ।
उनी हुन् सिन्धुलीका ३२ वर्षीय मिर्गौला पीडित दुर्गा खड्का । ‘प्रत्येक हप्तामा ३ पटक त डायलासिस गर्नुपर्ने हुन्छ सर,’ दुर्गाले भने, ‘एक पटक डायलासिस गर्दा ३ हजार खर्च हुन्छ ।’
सरकारले डायलासिस निःशुल्क भने पनि औषधि सहितका सामग्रीले खर्च बढाएको बाध्यता उनले सुनाए ।
‘डायलासिस त सरकारले निःशुल्क गरिदिएको छ तर सूइँ र अरु औषधि किन्नलाई धेरै महंगो छ,’ उनले निन्याउरो अनुहार पार्दै आफ्नो विवशता सुनाए ।
यत्तिकैमा हामी उनको कोठामा पुग्यौं । छोरा कतिखेर खाना खान आउँछ भनेर आमा घरमा पर्खेर बसेकी थिइन् । हामीले दुर्गालाई ‘खाना खानु भएको छैन’ भनेर सोध्यौं तर उनको चासो र बाध्यता खानाभन्दा कसरी नियमित उपचार गराउने भन्ने पीरमा थियो । ‘पहिले कुराकानी सिध्याउनु,’ आमाले आग्रह गरिन् । हामी थप कुराकानीतर्फ लाग्यौं ।

१० वर्षदेखि आफ्नो रोगको डायलासिस गराइरहेको उनले बताए । मिर्गौला ‘फेल’को कथादेखि प्रत्यारोपणको कहानीसम्म पुग्दाको घटना जोकोहीका निम्ति पनि अत्यासलाग्दो छ ।
कुराकानी शुरूवात नहुँदै आमा भक्कानो फोरेर हामीसामु रुन लागिन् । ‘बुढेसकालको एउटै सहारा यो मेरो छोरोलाई १० वर्षदेखि मैले स्याहार्दै आएकी छु,’ रुँदै उनले भनिन्, ‘यसको औषधि उपचार गर्दा–गर्दा गाउँमा भएको घरखेत सबै ऋणले डुबिसकेको छ ।’ छोराको उपचार गराउँदा लागेको ऋणले ‘अब केही दिनमै लिलामी हुने तयारी छ’ भनि नसक्दै उनका आँखा भिजिसकेका थिए ।
खासमा दुर्गा स्नातक तहको कक्षामा पढ्दापढ्दै बाध्यताले वैदेशिक रोजगारी बाटो रोज्न विवश भए । ‘म २२ वर्षको मात्रै थिएँ । विदेश जाउँ, केही आर्थिक उपार्जन गरौं भन्नेमा पुगें । घरको नून तेलका लागि भरथेग गरौं भनेर सबै खाले मेडिकल परीक्षण गराएर मलेसिया उडें,’ उनले १० वर्ष अगाडिको घटना सुनाए, ‘मलेसिया पुगेर कम्पनीले फेरि अर्को मेडिकल परीक्षण गर्यो, सबै रिपोर्टको नतिजा राम्रो आयो ।’
उनी घरका अभाव पूर्ति गर्न कमाउने बाटोमा लागेकोमा खुशी भए तर उनको खुशी लामो समय टिकेन ।
कम्पनीको नियमअनुसार १ वर्षपछि गरिएको रिपोर्ट दुर्गाले सोचे जस्तो आएन । ‘१ वर्ष राम्रैसँग काम पनि गरें तर कम्पनीको नियमअनुसार हरेक वर्ष गरिने मेडिकल परीक्षणमा मेडिकल रिपोर्ट राम्रो आएन भनेर मलाई नेपाल नै फर्काइयो ।’ के कारणले रिपोर्ट राम्रो आएन भनेर पनि उनले थाहा पाएनन् ।
तर नेपाल आएर परीक्षण गर्दाको नतिजाले उनी आफैं छाँगाबाट खसेका जस्तो भए । १ वर्षसम्म ठीकठाक चलेको मिर्गौला एक्कासि कसरी ‘फेल’ भयो ? मेडिकल रिपोर्ट उनले सोचेभन्दा बेग्लै थियो ।
कसरी यस्तो भयो त ? हाम्रो जिज्ञासामा उनले अनौठो जवाफ फर्काए ।
‘सायद मैले इनर्जी ड्रिंक धेरै खान्थे, त्यसैले हो कि ? पानीको साटो पनि इनर्जी ड्रिंक नै पिउँथे, त्यसैले पनि हुन सक्छ,’ यो उनको अनुमान थियो ।
यो अपत्यारिलो तर उनले भोग्नुपरेको समस्यापछि उनी डाक्टरको सल्लाहमा पुगे । त्यसपछि नियमित रूपमा १० वर्षदेखि डायलासिस गराउँदै आएका छन् उनी तर सधैं डायलासिसले मात्रै नथेग्ने भएपछि चढ्दो उमेरका दुर्गालाई मिर्गौला प्रत्यारोपण गर्न सुझाइयो । डाक्टरको सल्लाहमा मिर्गौला प्रत्यारोपणको प्रक्रिया शुरू भयो ।
सबै कानूनी प्रक्रिया मिलाएर आमा नै छोरालाई मिर्गौला दिन राजी भइन् । १०औं वर्षदेखि समस्याका सबै चाङ पार गरिसकेकी उनी आफैं मिर्गौला दिएर छोरालाई स्वस्थ बनाउन चाहन्थिन् ।
‘आमाको अपरेसन सफल पनि भयो तर मेरो शरीरले लिएन । मेरो शरीरमा प्रत्यारोपण असफल भयो,’ दुःखमाथि झन् ठूलो दुःख व्यहोर्नुपरेका उनले भने, ‘आमा स्वस्थ हुनुहुन्थ्यो, मलाई दुःखसुख मजदुरी गरेर हेरचाह गर्नुहुन्थ्यो तर न मिर्गौलाले मलाई काम गर्यो, न आमासँगै रहन सक्यो । बरु अपरेसनपछि आमा काम नै गर्न नसक्ने अवस्थामा पुग्नुभयो ।’
छोरासँगै आमा पनि थलिएपछि दिनचर्या चलाउन र कोठा भाडा तिर्न पनि कठिन भइरहेको बाध्यता उनले सुनाए ।
‘प्रत्यारोपण सफल होला र छोरा स्वस्थ भएर फर्केला भन्ने कति ठूलो आशा आमाले पाल्नुभएको थियो तर उहाँको आशा निराशामा परिणत मात्रै भएन, म त दुःखमा थिएँ नै मलाई बचाउन खोज्दा आमा झन् पीडित हुनुभयो,’ दुःखका फेहरिस्त सुनाउँदै उनले भने, ‘१० वर्षमा ६० लाख जति खर्च भइसक्यो, सम्पत्तिको नाममा, अब केही बाँकी छैन, हाम्रो लागि सबै सकियो ।’