२८ असार २०८३, आइतबार

प्रकाश सपूतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना पनि सुरू

प्रकाश सपूतको गीत ‘सकम्बरी’को चर्चासँगै आलोचना पनि सुरू

गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ यतिबेला सर्वाधिक चर्चामा छ । 

उनले तीन दिनअघि सार्वजनिक गरेको गीत टिकटकमा छाएको छ । युट्युबमा भिडियोको भ्युज ५० लाख पुगिसकेको छ ।

भिडियोले युट्युब ट्रेन्डिङको पहिलो स्थानमा कब्जा जमाएको छ । गीतको चुलिँदो चर्चाबीच आलोचना समेत सुरु भएको छ । शब्द र भिडियोमा समावेश दृश्यलाई लिएर कतिपयले आलोचना गरेका छन् । 

राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को वाध्यताको फाइदा यस क्षेत्रका पुरुष पात्रहरूले पाइला–पाइलामा कसरी उठाउँछन् भन्ने कथा भिडियोमा पेस गरिएको छ । ति महिला पात्र वाध्यतावश अवाञ्छित सम्झौता गर्दै गतल बाटोमा लाग्छिन् । सोही बाटोमार्फत उनी सफलताको उकालो चढ्छिन् । ति महिला पात्रको कलाकारिता सपना, पारिवारिक जिम्मेवारी, पुरुष पात्रले उठाउन खोज्ने फाइदा, उनको वाध्यता, महत्वकांक्षा र त्यसको परिणामलाई गीतमा पेस गरिएको छ ।

गीतमा प्रकाश स्वयंमको शब्द, संगीत र स्वर छ । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा स्वरमा प्रकाशलाई बर्ता गन्धर्वले साथ दिएकी छन् ।

प्रकाशले आफ्नै कथा एवं निर्देशनमा भिडियो तयार पारेका हुन् । भिडियोमा आफू स्वयंमसँगै कुसुम शर्मा, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । 

धेरैले प्रकाशले विगतमा जस्तै यस गीतमार्फत पनि यथार्थ चित्रण गरेको भन्दै प्रशंसा गरेका छन् । गीत र भिडियो चर्चामा आएसँगै यसको आलोचना समेत सुरु भएको हो ।

धेरैले उनको उक्त सिर्जनाको खुलेर प्रशंसा गरिरहँदा कतिपयले भने आलोचना गरेका छन् । 

गीतले महिलाको भावनामाथि अपमान गरेको आरोप कतिपयले लगाएका हुन् । त्यस्तै, कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । कतिपयले स्वर राम्रो भएपनि महिलाहरूलाई डोमिनेट गरिएको र गलत रुपमा चित्रण गरिएको गुनासो कतिपयको छ । कतिपय पुरुषहरूले समेत गीतको आलोचना गरेका छन् । 

सामाजिक अभियन्ता, फिल्म निर्माता समेत रहेका नर बहादुर कार्कीले प्रकाशले उत्पिडकमाथि नभइ उत्पीडितमाथि प्रश्न उठाएको जुन हास्यास्पद सामन्तीस्तरको चेतना भएको स्टाटस लेखेका छन् । 

त्यस्तै, सुष्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपूतले एउटा गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् ।

गीता चिमरियाले उक्त गीतबाट गलत भाष्य किन निर्माण गरियो भनेर प्रश्न गरेकी छिन् । 

निमा काफ्लले लय, ताल र स्वर राम्रो बनेका गीतले सन्देश गतिलो नदिँदा खल्लो महसुस हुने गुनासो गरेकी छिन् । 

गायक प्रकाश सपूतको गतवर्ष सार्वजनिक गीत ‘पीर’ पनि आलोचनामा परेको थियो  ।

उक्त गीतको भिडियोमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइए पुनः भिडियो सार्वजनिक गरेका थिए ।

गीतले चर्चा पाउँदा गायक प्रकाश सपूत भने यतिबेला अमेरिकामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्