
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विकास निर्माणमा खर्च हुने रकम कटौती नगर्न सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स् (स्काएफ) नेपालले माग गरेको छ ।
आगामी आवको लागि पूर्वाधार विकासमा खर्च हुने बजेट कटौती गर्ने विषयमा भइरहेको बहस तथा राष्ट्रिय योजना आयोगले मन्त्रालयगत रूपमा पठाएको बजेट सिलिङ घटेको छ ।
यसबाट आगामी आवमा निर्माण तथा पूर्वाधार विकासमा हुने खर्च गर्न खोजिएको देखिएको छ । विकास निर्माणको लागि बजेट कटौती नभएर बृद्धि गर्नुपर्ने माग स्काएफ नेपालको छ ।
आगामी आवको लागि भौतिक पूर्वाधार मन्त्रालयको मात्रै ५४ अर्ब रुपैयाँको बजेट कटौती गर्न खोजिएको र त्यसले पूर्वाधार निर्माणमा असर गर्ने तथा वहुवर्षिय आयोजना प्रभावित हुने छ ।
पूर्वाधार निर्माणमा खर्च हुने बजेट कटौतीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पूर्वाधार निर्माणमा पर्ने भन्दै स्काएफ नेपालले यो वर्षको भन्दा अर्को वर्ष खर्च गर्ने बजेट नघटाउन पनि माग गरेको छ ।
स्काएफ नेपालका अध्यक्ष टुकलाल अधिकारी र महासचिव कमल कार्कीले संयुक्त रूपमा एक प्रेस विज्ञप्ति जारी गरेरै आगामी आवको लागि कुनै पनि विकासे मन्त्रालयको बजेट नघटाउन सरकारसँग आग्रह गरेको हो ।
आर्थिक मन्दीको अवस्थामा पनि देश विकासको काम भने रोकिन नहुने र अन्तर्राष्ट्रिय अभ्यास पनि विकासमा गर्ने लगानी निरन्तर भइरहने छ ।
विकास बजेट कटौती गर्दा आगामी आवमा विकास निर्माण नै शून्य हुने, निर्माण व्यवसाय शिथिल हुने, परामर्श सेवा व्यवसाय धरासायी हुने, आपूर्तिको चेन विग्रनेसहितको समस्या विकास बजेट कटौतीबाट निम्तिने निष्कर्ष स्काएफले निकालेको छ ।
आर्थिक विकासको मेरुदण्ड नै पूर्वाधार निर्माण भएकोले राज्यले थप लगानी गर्दै जाने वातावरण बनाउन र विगतका वर्षको भन्दा बजेट घटाएर खर्च नगर्न पनि स्काएफ नेपालले सरकारसँग अनुरोध गरेको छ ।