
तपाईंलाई सुन्दा अचम्म लाग्ला – सुप पनि चिसो ! यो कुनै अचम्मको कुरै होइन । धेरै सुपहरू चिसो सर्भ गर्न सकिन्छ र यी सुपहरू गर्मी मौसममा निकै शितलता प्रदान गर्ने मात्र होइन, स्वस्थकर पनि हुन्छन् ।
कोल्ड सुपहरू विश्वभर प्रसिद्ध छन् । कोल्ड सुप पिउने अभ्यास युरोप–अमेरिकामा ज्यादा भेटिन्छ । पछिल्लो समय खाडी मुलुक तथा अफ्रिकामा पनि लोकप्रिय हुँदै गएको छ ।
स्पेनिस गाजपाचो सुप विश्वभर चर्चित कोल्ड सुप हो, रसियन बिट कर्ड सुप पनि त्यतिकै प्रसिद्ध छ । ग्रीकमा कुकम्बर कर्ड कोल्ड सुप विश्वका धेरै देशमा गर्मी महिनामा पिउने गरिन्छ ।
के–के छन् कोल्ड सुपहरू ?
कोल्ड सुप अर्थात् चिल सुप विश्वमा सयौं छन् । गर्मीलाई आधार मानेर तयार गरिने समर चिल सुप ५ तारे होटल तथा उच्च स्तरको फाइनडाइनिङ रेस्टुरेन्टहरूको मेनुमा समावेश गरिएको हुन्छ । स्ट्रबेरी टोमेटो सुप, मिन्ट पिज सुप, कुकम्बर कर्ड सुप, मरोकन क्यारोट्स समर सुप, म्याङ्गो सुप, चिल बेल पेपर सुप, कोल्ड पिज सुप, चेरी गाजपाचो, कर्न भिसिस्वास, समर बिट, आभोगाडो गाजपाचो, कुचम्बर गाजपाचो, चिल जुकुनी सुप, बटरमिल्क कुकम्बर सुप, ग्रिन कर्न सुप, अजोब्लन्को, मेगी लिभ्स सुप, अक्रोस्का, टाराटोर, खालाडनिक, नाइङगुक, अजबलान्को, सालमरेजो लगायत थुप्रै हुन्छन् ।
चिल सुपहरू गर्मी महिनाका लागि शितलता मात्र नभई पौष्टिकताका लागि पनि अतिउपयोगी मानिन्छन् । यस्ता खालका सुप समर सिजनमा धेरैको प्रिय परिकार मानिन्छ । बच्चादेखि बुढाबुढी सबैलाई हुने कोल्ड सुप नियमित लिँदा स्वास्थ्यका हिसाबले पनि फाइदै–फाइदा छ । यो खालको सुप बनाउन पनि त्यतिकै सजिलो र सीमित सामग्री भए पुग्छ ।
आफ्नै घरमा पाइने सामान्य सामग्रीबाट पनि तयार गर्न सकिने हुँदा नियमित सेवन गर्दा उत्तम हुन्छ । मुख्यतया सब्जी या फलफूलबाट बन्ने चिसो सुपहरू प्राकृतिक एन्टिअक्सिडेन्टहरू हुन्, जसमा भिटामिन ए, सी र ई पाइन्छ । यसले तपाईंको छाला र न्युरोन्सलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
तरकारी, फलफूल र अन्नमा पर्याप्त म्याग्नेसियम हुने हुँदा शरीरलाई राम्रोसँग कार्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । गर्मीयाममा पर्याप्त पसिना निस्किने हुँदा चिसो सुपहरूमा पाइने पर्याप्त पोषक तत्वहरूले शरीरलाई रिहाइड्रेट गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।