
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामू नेपाली फिल्म झुर हुन्छन् भन्ने आरोपलाई गलत सावित गर्ने अवसर आएको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणप्रति लक्षित गर्दै शाहले ब्लकबस्टर फिल्म निर्माण गर्ने नाताले पनि प्रधानमन्त्रीसामु राम्रो अनुसन्धान गरी ब्लकबस्टर फिल्म बनाउने अवसर आएको बताएका हुन् ।
‘सदनमा मैले पहिलो मन्तव्य राजनीति चलचित्र र यसका खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नु भएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनदेखि ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्ममा ट्रेलर गज्जव हुने तर फिल्म झुर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ । यसै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण गर्ने अनुभवी भएको नाताले सरकरालाई केही सुझाव दिन चाहन्छु’ शाहले भने, ‘दर्शकको लागि चलचित्र बनाउँदै छौ भने दर्शकले बुझ्ने गरी बनाउनुपर्छ । त्यस्तै गरी जनताको लागि ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म नेपाली जनताले बुझ्नेगरी पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ । खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रभावमा परी उसको अनुकूलता कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसै गरी यहाँ पनि सरकारको कोही लगानीकर्ताको प्रलोभनमा नपरोस् । शङ्कास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कोहीको भूमिका भए पनि स्पष्ट छानबिन गरियोस् ।
दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ । यसैले आफ्ना निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ ख्याल राखियोस् ।’ प्रधानमन्त्री प्रचण्डले नै केही दिन अगाडि शरणार्थी ठगी प्रकरणको ट्रेलर मात्रै आएको भन्दै फिल्म आउनै बाँकी भएको बताएका थिए । यो प्रकरणमा एकपछि अर्को राजनीतिक र उच्च प्रशासनिक व्यक्तिको संलग्नता खुल्दै गएको छ ।