च्याटजीपीटी उपयोग गरी झूटो समाचार लेखेको भन्दै चिनियाँ अधिकारीहरूले एक व्यक्तिलाई पक्राउ गरेका छन् ।
चीनमा कृत्रिम बौद्धिकताको दुरुपयोग गरेकोमा कुनै व्यक्ति पक्राउ परेको यो पहिलो घटना हो ।
होङ थर भएकाले ती व्यक्तिले आधुनिक प्रविधि अपनाएर झूटो सूचना प्रवाह गरेको अनि त्यसलाई सामाजिक सञ्जालमा फैलाउन प्रयास गरेको गान्सु प्रान्तको सार्वजनिक सुरक्षा ब्युरोले जनायो ।
ट्रेन दुर्घटनामा नौजनाको मृत्यु भएको भनी प्रकाशित झूटो समाचारका बारेमा प्रहरीले पत्ता लगाएपछि कृत्रिम बौद्धिकताको दुरुपयोगको खबर सार्वजनिक भएको हो । उक्त झूटो खबर बाइदु कम्पनीको पाइच्याहाओ नामक सामाजिक सञ्जालमा प्रकाशित भएको थियो । सञ्जालबाट हटाइनुअघि त्यो खबरले १५ हजार भ्युज पाएको थियो ।
चीनमा च्याटजीपीटीलाई प्रतिबन्धित गरिएको छ तर भीपीएन उपयोग गरी त्यसमा पहुँच पाइन्छ । ती व्यक्तिले दुर्घटनाका बारेमा प्रकाशित कैयौं समाचारलाई मिसाएर झूटो खबर तयार पारेका थिए । वीच्याटमा रहेका साथीहरूले क्लिक गराएबापत पैसा कमाउन सकिने तरिका सिकाएपछि आफूले झूटो खबर बनाएर क्लिक गराएको उनको भनाइ छ ।
होङविरुद्ध विभिन्न मुद्दा लगाइएको छ । उनलाई पाँच वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ ।