
तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ परेको २४ घण्टा नाघिसकेको छ ।
नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने गिरोहलाई सघाएको आरोपमा खाँण बुधवार पक्राउ परेका थिए ।
उनलाई काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।
रातिको समयमा अन्य थुनुवासँगै रहन नमानेपछि खाँणलाई एक डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको थियो ।
खाँणले दालभातसहित सादा खाना खाएको प्रहरी स्रोतले जानकारी दियो ।
'उहाँलाई यहीँ मेसको सादा खाना दिएका थियौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
गृहमन्त्री छँदा नक्कली शरणार्थी खडा गर्ने गिरोहका लागि काम गरेको र पैसा समेत बुझेको प्रमाण भेटिएपछि खाँणलाई पक्राउ गरिएको हो ।
यस प्रकरणमा खाँणसहित १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गिरोहका मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारीलगायत छन् ।
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि रायमाझी फरार छन् ।
उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।