वैशाख महिनामा असफल हुने नेपाली फिल्मको संख्या धेरै देखिएको छ ।
वर्ष २०८० को पहिलो महिना ८ वटा नेपाली फिल्म रिलिज हुँदा एउटा फिल्म मात्र सफल भएको छ । दयाहाङ राई स्टारर ‘जारी’ले आक्रामक व्यापार गर्दा अन्य सात फिल्मले घरेलु बक्स अफिसमा लगानी पनि उठाउन नसकेका हुन् ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार दयाहाङ र मिरुना मगर स्टारर ‘जारी’ को शनिवारसम्मको नेट कमाई १३ करोड ७४ लाख छ ।
यो फिल्म अहिले पनि हलमा प्रदर्शन भइरहेको छ ।
‘जारी’ले बम्पर व्यापार गर्दा वैशाख १ गते नै रिलिज भएको दयाहाङकैै फिल्म ‘बिहे पास’ले भने घरेलु बक्स अफिसमा लगानी पनि उठाउन सकेन ।
त्यस्तै, वैशाख १ मै रिलिज भएको ‘बुलाकी’ फिल्म निर्माताले शो बाँडफाँडमा चित्त नबुझेको भन्दै केही दिनमै हलबाट उतारेका थिए ।
वैशाख १५ गते ३ नेपाली फिल्म प्रदर्शनमा आए । उक्त मितिमा प्रदर्शनमा आएका अपेक्षित मानिएका फिल्म ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’को व्यापार सुखद् रहेन । त्यस्तै सोही मितिमै प्रदर्शनमा आएको ‘कैदीको पत्र’को व्यापार निकै कमजोर देखियो ।
वैशाख २१ मा प्रदर्शनमा आएको ‘ज्याकी : आई एम ट्वान्टी वान’को व्यापार पनि निराशाजनक रह्यो । धीरज मगर र जसिता गुरुङ स्टारर यो फिल्मलाई पनि अपेक्षित मानिएको थियो ।
वैशाख २९ मा प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले समीक्षकबाट राम्रो प्रतिक्रिया पायो, यद्यपि यो फिल्म हेर्न हलमा दर्शकको उपस्थिति भने एकदमै न्यून देखिएको छ ।