३० जेठ २०८३, शनिबार
भ्युजका लागि मरिहत्ते

युट्युबमा सिधै किन्न पाइन्छ 'भ्युज' ?

९० प्रतिशतले गर्छन् डलर खर्चेर 'बुस्ट', 'फेक भ्युज'को पनि 'ट्रेन्ड'
जेठ १९, २०८०
युट्युबमा सिधै किन्न पाइन्छ 'भ्युज' ?

हिजोआज फेसबूक वाल ‘स्क्रोल’ गर्दा धेरै म्युजिक भिडियो देखिन्छन्, जसलाई विभिन्न पेजबाट ‘स्पोन्सर्ड’ (विज्ञापन) गरिएको हुन्छ । युट्युब खोल्दा माथिपट्टि ‘एड’ लेखिएको म्युजिक भिडियो पाउँछौं । 

पछिल्लो समय बिरलै म्युजिक भिडियो होलान्, जसलाई फेसबूक र युट्युबमा ‘स्पोन्सर्ड’ नगरिएको होस् । 

दुई साताअघि युट्युबमा पल शाह अभिनीत ‘आँसु बनी नखस कहिले नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भयो । यस भिडियोलाई अहिलेसम्म २० लाखमाथि ‘भ्युज’ मिलेको छ, जसलाई राम्रो मान्न सकिन्छ । तर, भिडियोले छोटो समयमै लाखौं भ्युज पाउनुपछाडिको कारण भने अर्कै देखिन्छ । 

उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै विभिन्न पेजबाट ‘बुस्ट’ गरिएको थियो । अभिनेता पल शाह, गायिका अनु चौधरी, मोडल सनिशा भट्टराई, केन्द्र मोशन पिक्चर्स लगायतको पेजबाट भिडियो ‘बुस्ट’ गरिएको थियो । 

त्यसपछि पलको अर्को म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न ?’ सार्वजनिक भयो । पल र सनिशा ‘फिचर्ड’ उक्त भिडियो पनि थुप्रै पेजबाट ‘बुस्ट’ गरियो । पलको भिडियो धेरै ‘बुस्ट’ गरिएको भनेर सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरेका थिए ।

गत शनिवार सार्वजनिक गायिका स्मिता दाहालको ‘आँखामा गाजल’बालको गीत पनि धेरै पेजबाट ‘स्पोन्सर्ड’ गरियो । 

अभिनेत्री प्रियंका कार्कीलगायतको पेजबाट उक्त गीतको भिडियो ‘स्पोन्सर्ड’ छ । गायिका रानी शाक्यले आफ्नो पछिल्लो गीत ‘झिम परेली’ धेरैतिरबाट ‘बुस्ट’ गरेकी थिइन् ।

उक्त गीतलाई युट्युबमा समेत विज्ञापन गरिएको थियो । सांगीतिक बजारमा खासै नसुनिएको उक्त गीतको युट्युब भ्युज पनि २२ लाख पुगिसकेको छ । 

धेरै म्युजिक भिडियोहरू डलर खर्चिएर फेसबूकका साथै युट्युबमा पनि विज्ञापन गरिँदै आएको छ । 

निर्देशक निकेश खड्का पछिल्लो समय ‘बुस्ट’ वा विज्ञापन नगरिने म्युजिक भिडियोहरू बिरलै देखिने गरेको बताउँछन् ।

‘कि स्रोता/दर्शकलाई प्रतीक्षामा राखेको भिडियो हुनुपर्‍यो, नत्र पैसा तिरेर बुस्ट गरिएको हुन्छ,’ उनले भने ।

बलिउडमा पनि यसरी विज्ञापन गर्ने प्रचलन रहेको बताउँदै उनले थपे, ‘पहिले टेलिभिजनमा प्रोमो बजाउन समय किनेकोजस्तै अहिले प्रमोसनका लागि फेसबूक र युट्युब रोजाइमा छन् ।’

पछिल्लो समय युट्युबमा म्युजिक भिडियोको औसत भ्युज घटेको छ । अहिले धेरै स्रोता/दर्शकहरू टिकटकमा झुम्मिने गरेका छन् । सोही कारण टिकटकमा चलेका गीतले मात्र युट्युबमा राम्रो भ्युज पाएको देखिन्छ । 

‘पहिले स्रोता दर्शकहरूले युट्युब स्क्रोल गर्दै मन लागेको म्युजिक भिडियो हेर्थे । अहिले युट्युबमा त्यसरी दर्शकहरू झुमिँदैनन् जस्तो लाग्छ,’ निर्देशक खड्काले भने, ‘कि प्रकाश सपूतको जस्तो प्रोजेक्ट हुनुपर्‍यो, नत्र अन्यलाई स्रोता तथा दर्शकसम्म पुर्‍याउन प्रमोसन अनिवार्यजस्तै छ ।’ 

हिजोआज फेसबूक र युट्युब प्रमोसनका लागि भिडियो निर्माणकै क्रममा बजेट छुट्ट्याउने गरिएको छ ।

५० हजार रुपैयाँसम्म सामाजिक सञ्जालको प्रमोसनमा खर्च गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए । 

पछिल्लो समय फेसबूकभन्दा युट्युब विज्ञापनमा बढी ध्यान दिन थालिएको छ । युट्युबमा ‘मिनिमम भ्युज ग्यारेन्टी’ गरेर विज्ञापन गरिँदा पनि प्रमोसनका लागि युट्युब रोजाइमा पर्न थालेको निर्देशकहरूको भनाइ छ । 

२५/३० हजार नेपाली रुपैयाँ बराबर १ लाख भ्युज आउने दाबी गरेर युट्युब विज्ञापन गर्ने गरिएको सांगीतिक क्षेत्रलाई नियालिरहेकाहरू बताउँछन् । कुनै भिडियोमा उक्त भ्युज एक दिनमै आउने र कुनै भिडियोका लागि ४/५ दिन पनि लाग्ने गरेको उनीहरूको भनाइ छ ।

सिधै किन्न पनि पाइन्छ युट्युब भ्युज ?

धेरैले सुन्दै नसुनेका कतिपय गीतले युट्युबमा राम्रो भ्युज पाएका हुन्छन् । सामाजिक सञ्जालतिर खासै नछाएका, बजारमा समेत त्यति चर्चा नपाएका गीतको भ्युज कसरी लाखौं पुग्छ ?

अझ, पछिल्लो समय त गीतले युट्युबमा राम्रो भ्युज पाउन टिकटक लगायतका सामाजिक सञ्जालमा चल्नुपर्ने ‘ट्रेन्ड’ देखिएको छ ।

नसुनेका गीतहरूको आकर्षक युट्युब भ्युजलाई लिएर सांगीतिक बजारमा हल्ला सुनिन्छ, फेक भ्युज किनिएछ ! बजारमा आउने त्यस्तो हल्ला सत्य हो ? के युट्युबमा फेक भ्युज किनेर पाइन्छ ? निर्देशक खड्का जवाफमा भन्छन्, ‘पाइन्छ’ ।

उनका अनुसार चाह्यो भने ‘फेक भ्युज’ केहीछिनमै पाउन सकिन्छ । यद्यपि, सिधै भ्युज किन्नेहरू पछिल्लो समय भने आफूले एकदमै कम पाउने गरेको उनी बताउँछन् । 

‘यो भनेको फेक भ्युज हालिदिने हो । यसमा भ्युज मात्रै बढ्ने, लाइक र कमेन्ट थोरै देखिने हुँदा किनेको भन्ने धेरैले थाहा पाउन थाले । फेरि भ्युज किन्दा युट्युब च्यानललाई पनि असर गर्दोरहेछ,’ फिल्म निर्देशक समेत रहेका खड्काले भने, ‘च्यानललाई असर गर्ने भएपछि कलाकारहरू पनि त्यसरी भ्युज किन्न डराउन थाले । अहिले कमैले मात्र सिधै भ्युज किन्ने गरेका छन् ।’ 

एक/डेढ वर्ष अघिसम्म ‘फेक’ भ्युज किन्नेहरू अलि धेरै देखिने गरेकोमा अहिले घट्दै गएको निर्देशक खड्काको बुझाइ छ ।

सिधै किनिएको भ्युज पछि घट्ने गरेको समेत उदाहरण देखिएकाले सो क्रममा कमी आएको हुनसक्ने उनले बताए । 

नेपालमा चलेका दर्जनौं कलाकारको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका अर्का एक व्यक्तिले पनि चाह्यो भने सजिलै ‘फेक भ्युज’ किन्न सकिने दाबी गरे ।

‘त्यसरी काम गर्ने कतिपय त भ्युज हाल्ने व्यक्ति भनेरै सांगीतिक क्षेत्रमा परिचित छन्,’ उनले भने, ‘२५–३० हजार रुपैयाँ बराबर १ लाख भ्युज ‘ग्यारेन्टी’ गरेर उनीहरूले काम गर्ने गरेका छन् । छिट्टै धेरै भ्युज देखाउन चाहनेले यसरी किन्ने गरेका छन् ।’

आफूकहाँ पनि फेक भ्युज चाहियो भनेर धेरै नव कलाकारहरू आउने गरेको, तर आफूले त्यसरी काम नगरेको बताए । उनले त्यसरी आउने कलाकारहरूलाई सम्बन्धित व्यक्तिको नम्बर दिएर पठाउने गरेको बताए । 

आर्थिक हिसाबले केही सबल तर सांगीतिक क्षेत्रमा नयाँ रहेकाहरूले फेक भ्युज किन्ने गरेको अनुभव म्युजिक भिडियो बनाउनेहरूसँग छ । त्यसमा पनि फेक भ्युज किन्नेहरू बढी विदेशमा रहेर सांगीतिक क्षेत्रमा रहर गर्नेहरू देखिने गरेका छन् । फ्रोफेसनल कलाकारहरू भने कमैले मात्र भ्युज किन्ने गरेका छन् । 

सिधै भ्युज किन्नुमा फाइदाभन्दा बेफाइदा धेरै छन् । मेरो भिडियोले यति भ्युज पायो भनेर आत्मरतीमा रमाउनुभन्दा फेक भ्युजको अरू फाइदा नरहेको सांगीतिक क्षेत्रका जानकारहरू बताउँछन् । 

‘किनेको भ्युजबाट पैसा आउँदैन । च्यानललाई पनि असर गर्छ,’ कलाकारहरूको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका ती व्यक्तिको सुझाव छ, ‘म त जो कोहीलाई पनि त्यसरी भ्युज नकिन्न सल्लाह दिन्छु ।’ 

यति पैसा दिए यति भ्युज आउँछ, भिडियो सिधै ट्रेन्डिङमा ल्याइदिन्छु भनेर ‘बार्गेनिङ’ गर्नेहरू समेत सांगीतिक बजारमा प्रशस्त रहेको निर्देशकहरू बताउँछन् । यद्यपि, पैसा तिरेर भिडियो ट्रेन्डिङमा नआउने निर्देशक खड्काले बताए । डलर खर्च गरेर भ्युज किनेकै भरमा भिडियो ट्रेन्डिङमा नआउने उनको दाबी छ ।

निर्देशक सुव्रतराज आचार्य पनि युट्युबमा भ्युज किनेर मेरो भिडियो लाखौंले हेरे भन्नु आत्मरती मात्रै भएको बताउँछन् 

उनी गीत राम्रो छ भने भ्युज किन्नु वा बुस्ट गर्नु नपर्ने धारणा राख्छन् । ‘मैले निर्देशन गरेको गीत ‘मनमगन’ बुस्ट गरिएको थिएन । ‘हुकुम बस्कियोस्’ पनि बुस्ट गरिएको थिएन ।

‘पिरिम नलाउने’ले आफैं १० करोडभन्दा बढी भ्युज पायो,’ उनले भने, ‘गीत आफैंमा राम्रो भयो भने भ्युज किन्नु पर्दैन । यत्तिकै पनि राम्रो भ्युज पाउँछ ।’ 

पुराना कतिपय गीतहरू टिकटकका कारण अहिले हिट भएको उदाहरण दिँदै उनले राम्रो गीतहरू अहिले नचले पनि पछि चल्ने विश्वास व्यक्त गरे । 

उनले भनेजस्तै केही सीमित कलाकारका म्युजिक भिडियोले बुस्ट र युट्युब विज्ञापनविना लोभलाग्दो भ्युज पाउँदै आएका छन् ।

सामाजिक सञ्जालमा विज्ञापन र फेक भ्युजको ‘ट्रेन्ड’लाई लक्षित गर्दै मोडल सुनिल क्षेत्रीले फेसबूकमा असन्तुष्टि पोखेका छन्– ‘मीठो बनाए त खाइहाल्छन् नि ! जबरजस्ती खाइदे–खाइदे भनेर मुखमै ठुस्नुपर्छ र ?’ 

salt training

कमेन्ट गर्नुहोस्