
वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘जारी’ अझै पनि केही हलमा प्रदर्शनरत छ ।
दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म सोमवार ६० औं दिनमा प्रदर्शन भइरहँदा त्यससँगै र त्यसपछि प्रदर्शनमा आएका अधिकांश फिल्मले दर्शकलाई आकर्षित गर्न सकेनन् ।
फलस्वरूप अधिकांश फिल्म एक साता पनि नटिकी हलबाट बाहिरिए ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले ‘जारी’पछिका नेपाली फिल्मले दर्शकलाई आकर्षित गर्न नसकेको बताए ।
‘पछिल्ला नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्नै सकेनन्,’ उनले भने, ‘अहिले त नेपाली फिल्ममा हल सुनसान जस्तै छन् ।’
बिग मुभिजका व्यवस्थापक दीपेश शर्मा पनि ‘जारी’पछिका फिल्ममा दर्शक उपस्थिति न्यून रहेको बताउँछन् ।
‘जारी’पछिका कुनै पनि फिल्म राम्रो नचलेको उनले बताए । उनी फिल्म नचल्नुको दोषी स्वयं फिल्म नै हुने बताउँछन् ।
‘समय र अन्य कुराहरूलाई दोष दिनुभन्दा पनि फिल्म नचल्नुको मुख्य दोष स्वयं फिल्मको नै हो,’ उनले भने, ‘राम्रो फिल्मले व्यापार पनि राम्रो गरेकै छ । जारी अझैसम्म पनि राम्रै चलिरहेको छ । कन्टेन्ट राम्रो भएपछि फिल्म आफैं चल्छ ।’
नयाँ रिलिज भएका फिल्ममा भन्दा अहिले पनि ‘जारी’मा दर्शक बढी रहेको शर्माले बताए । चलचित्र संघका महासचिव महर्जन पनि फिल्म राम्रो भए दर्शक आउने बताउँछन् ।
‘फिल्म राम्रो भएपछि दर्शकलाई हलसम्म आउन केही कुराले रोक्दैन,’ उनले भने, ‘अफसिजन, आर्थिक मन्दी लगायतका कारण देखाइए पनि मुख्य कुरा फिल्मको कन्टेन्टले नै दर्शकलाई आकर्षित गर्न नसकिरहेको हो ।’
अधिकांशको कमाइ दयनीय
‘जारी’ले राम्रो कमाइ गर्दा अन्य फिल्मको कमाइ भने दयनीय छ । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार ‘जारी’को ग्रस कलेक्सन १६ करोड ९६ लाख छ ।
तर, अवस्था यस्तो देखिएको छ कि ‘जारी’पछि रिलिज भएका कुनै पनि फिल्मले एक करोड पनि कलेक्सन गर्न सकेका छैनन् ।
विकास बोर्डको बक्स अफिस विभागले सोमवार लोकान्तरलाई दिएको रिपोर्टअनुसार ‘जारी’ले आक्रामक व्यापार गर्दा सोही मितिमा प्रदर्शनमा आएको दयाहाङकै ‘बिहे पास’को कलेक्सन ८८ लाख ८९ हजार मात्रै रहेको छ ।
त्यस्तै, सुरक्षा पन्त अभिनीत ‘बुलाकी’को कलेक्सन ८ लाख ३ हजार छ । विपिन कार्की र केकी अधिकारी अभिनीत ‘प्रसाद २’ले ७८ लाख ६७ हजार कलेक्सन गरेको छ ।
आँचल शर्मा स्टारर ‘नाइँ नभन्नू ल ६’को कलेक्सन २२ लाख ८ हजारमा समेटिँदा ‘कैदीको पत्र’को कलेक्सन १ लाख ६० हजार मात्रै रहन पुगेको छ ।
धीरज मगर र जसिता गुरुङ स्टारर ‘ज्याकी : आईएम ट्वान्टी वान’को कमाइ ५० लाख ६८ हजार रुपैयाँ छ । ‘हल्कारा’को कमाइ ८ लाख ३५ हजार रुपैयाँमै समेटिएको छ ।
वर्षा शिवाकोटी अभिनित ‘ए साथी सुन’को कलेक्सन ४२ हजार मात्रै रहन पुगेको छ । ‘हुक्का’ले २ लाख १९ हजार कलेक्सन गर्दा ‘टुल्की’को कलेक्सन ३ लाख १७ हजारमा सीमित रहन पुगेको छ ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘नीरफूल’ले आइतवारसम्म २० लाख रुपैयाँ कलेक्सन गर्दा बुद्धि तामाङ स्टारर ‘वेलकम टु हेम्जाकोट’ले ३ लाख रुपैयाँ पनि कलेक्सन गर्न सकेको छैन ।
‘वेलकम टु हेम्जाकोट’का प्रस्तुतकर्ता तेजप्रसाद दाहालका अनुसार यो फिल्ममा १ करोड २० लाख रुपैयाँ लगानी भएको थियो ।
भदौबाट चलायमान हुने अपेक्षा
आगामी शुक्रवारदेखि प्रदर्शन हुने साउथस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ले हललाई चलायमान बनाउने विश्वास लिइएको छ ।
नेपाली बक्स अफिस भने भदौदेखि मात्र चलायमान हुने अपेक्षा हलवालाहरूले गरेका छन् । त्यसअघि केही फिल्म राम्रो व्यापार गर्न सक्ने आशा भने उनीहरूले छाडेका छैनन् ।
हल सञ्चालक समेत रहेका नेपाल चलचित्र संघका महासचिव महर्जनले भदौदेखि मात्र नेपाली बक्स अफिस चलायमान हुने अनुमान गरे ।
‘भदौमा आशा गरिएका नेपाली फिल्महरू प्रदर्शन हुँदैछन्,’ उनले भने, ‘त्यसअघि पनि केही फिल्मले राम्रो गर्छन् कि भन्ने अपेक्षा छ ।’