
गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको युरोप शाखाले विरोध जनाएको छ ।
अध्यक्ष पूर्ण अर्यालले सोमवार एक विज्ञप्ति जारी गर्दै समाजमा भएको विकृति र विसंगतिलाई चिर्न कलामार्फत चेतना जगाउने एक सर्जकलाई स्टेजमा गरिएको अपमान आफूहरूलाई सह्य नभएको जनाएका छन् ।
घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूको बदनाम भएको उनको बुझाइ छ ।
‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुका साथसाथै आफ्नै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छनीय क्रियाकलापले सम्पूर्ण नेपाली कलाकारहरूको मन दुखेको छ,’ अर्यालले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो घटना अत्यन्तै निन्दनीय अमानवीय र अराजकताको पराकाष्ठा भएको युरोप शाखाको ठहर छ ।’
घटनामा संलग्न जो कोही भए पनि कानूनी कारबाही गर्न शाखाले सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ ।