
गत वर्ष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गोपाली कामी नाम गरेका व्यक्तिले ५० हजार ठगी गरेको उजुरी आयो ।
तत्कालीन समयमा जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्की थिए । जाहेरीमा एउटा व्यक्तिले कारमा आएर मार्टमा ५० हजारको सामान किनी पैसा नभएको चेक दिएर हिँडेको उल्लेख थियो । त्यसैका आधारमा प्रहरीले उनलाई खोज्न थाल्यो ।
‘त्यो बेला हामीले चितवनदेखि नेपालगञ्जसम्म खोज्यौं । लुकेर हिँड्दै गरेको अवस्थामा चनौटाबाट पक्राउ गरेका थियौं,’ हाल प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने ।
प्रहरीले पक्राउ गरेर ल्याएपछि उनले प्रयोग गरेको गाडी र ५० हजार ठगीको रहस्य खुल्यो । रोचक कुरा त के भने उनको नाम नै अर्कै रहेछ । यसरी ठगी गर्ने व्यक्ति प्युठानको झिमरुक गाउँपालिका– ६ का ईश्वरीप्रसाद पोखरेल रहेछन् ।
अर्को रोचक तथ्य के पनि भेटियो भने उनले गाडी समेत ‘टेस्ट ड्राइभ’का लागि भन्दै शोरुमबाट लगेका रहेछन् ।
खाद्यन्नसहित किराना सामान किन्दा उनको बिल ५० हजार उठ्यो । उनले कर्मचारीलाई त्यसबराबरको चेक दिएर हिँडेका रहेछन् । ‘गड्डी–गड्डी चेक बोक्दोरहेछ, त्यही चेक दिएर हिँडेछ,’ एसएसपी कार्कीले भने ।
प्रहरीले मार्टबाट लगिएका सामान फिर्ता गरायो अनि फेरि ठगी नगरुन् भनेर जिल्ला प्रहरी कार्यालयदेखि सरकारी वकिलको कार्यालय कपिलवस्तुसम्म हत्कडी लगाएर हिँडायो ।
‘हामीले त्यो बेलामा उसलाई सबै जनाले चिनुन् र फेरि ठगी नगरोस् भनेर नसिहतका हिसाबले हिँडाएका थियौं,’ एसएसपी कार्कीले भने ।
कानूनी कारवाहीको प्रक्रिया समेत टुंगिएपछि त्यतिबेला उनी ‘अब सुध्रिन्छु, आइन्दा चोरी/ठगी गर्दिनँ’ भनेर छुटेको एसएसपी कार्की बताउँछन् । तर, उनी यही असार ५ गते काठमाडौंको रामशाहपथबाट फेरि पक्राउ परेका छन् ।
संयोग कस्तो परेको छ भने पोखरेल पक्राउ पर्ने बेलामा काठमाडौं प्रहरी परिसरको प्रमुख उनै दानबहादुर कार्की (एसएसपी) छन् ।
‘म सुध्रिन्छु भनेर छुटेको थियो, फेरि पक्राउ पर्यो,’ कार्कीले भने, ‘यो हम नही सुध्रिङ्गेवाला परेछ ।’
पछिल्लो समय प्रहरीले उनलाई ‘गौमुखी ग्रुप अफ इन्डस्ट्री’ र ‘बाग्मती सप्लायर्स कम्पनी’को नामबाट ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । पछिल्लोपटक १८ लाख ९२ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको एसएसपी कार्कीले बताए ।
पोखरेलले सामाजिक सञ्जाल फेसबूक र ह्वाट्स एपमा ग्रुप बनाएर निर्माण सामग्रीहरू रड, सिमेन्टलगायत सप्लाइ गर्ने भन्दै ठगी गरेको पाइएको छ । अनलाइनबाट अर्डर लिने र पैसा लिएर फरार हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।
‘यसले बिक्री नगर्ने भन्ने केही छैन, नुनदेखि सुनसम्म र कृषि सामग्रीदेखि उपजसम्म बिक्री गर्छु भन्दै ठगी गर्दै आएको छ,’ एसएसपी कार्कीले भने ।
यसपटक उनको ठगीको अंक २४ करोड हाराहारीमा पुग्ने देखिएको छ । काठमाडौं प्रहरीमा २०८० असार ३ गते उनीविरुद्ध ठगीका ३ वटा जाहेरी परेको छ । ठगीमै उनलाई जिल्ला प्रहरी कार्यालयले २०७९ पुस २३ गते पक्राउ पुर्जी जारी गरेको छ ।
वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा असार १ गते पक्राउ पुर्जी जारी भएको छ । यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको जाहेरीका आधारमा २०७९ माघ १ गते पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौंबाटै २०७९ मंसिर २८ गते बैंकिङ कसूरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा ०७९ चैत २२ गते ठगीको अर्को जाहेरी पनि परेको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई २०६७ मा नागरिकता कीर्ते र ठगीमा समेत पक्राउ गरेको पाइएको छ । काठमाडौं प्रहरीले नै २०७२ र २०७६ सालमा जबरजस्ती करणीको आरोप र वैदेशिक रोजगारीसम्बन्धी ठगीमा समेत पक्राउ गरिसकेको पाइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट २०७८ सालमा वैदेशिक ठगीमा मुद्दा चलेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके, प्युठान, दाङ, चितवन, पर्सा र सुनसरीबाट बैंकिङ कसूरमा मुद्दा चलेर धरौटीमा रिहा भएको पाइएको प्रहरीले जनाएको छ ।
त्यति मात्र नभएर उनले भारतको लखनउमा बसेर मोबाइलको रोमिङ समेत चलाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।