३० असार २०८३, मंगलबार

रमेश सायनको उपन्यास 'अन्तर' सार्वजनिक

असार ३०, २०८०
काठमाडौं
रमेश सायनको उपन्यास 'अन्तर' सार्वजनिक

लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिङ्गी लेक्स लिम्बूसहित लेखक रमेश सायन र संचारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकबारे लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्रको भोगाइ समानान्तर भएको भन्दै लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए। उनले भने, ‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो,' उनले भने, 'त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’

नेपाली समाजमा लैंगिक विभेद विद्यमान रहेको भन्दै समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको उनले बताए । यसबारे खुलेर बहस हुनुपर्ने उनको भनाइ छ । राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए।

फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा सायनले खुशी व्यक्त गरे। उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो !’

बुकहिलले प्रकाशन गरेको २५२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ रहेको छ।

सायनका यसअघि 'भागेर भूगोलभरि' (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति 'छुटेका अनुहार' (निबन्ध) प्रकाशित छन्।

salt training

कमेन्ट गर्नुहोस्