०४ साउन २०८३, सोमबार

मौलाकाली केबलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

साउन २, २०८०
काठमाडौं
मौलाकाली केबलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ अफर ल्याएको छ । यही साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । 

यस अफर अन्तर्गत प्रत्येक बुधवार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेसन मेनेजर सुरज पौडेलले बताए । हाल केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरूले रु. २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । 

यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा  यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । 

'दिउँसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ'- केबलकारका स्टेसन मेनेजर पौडेल बताउँछन् ।

 मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरूको तुलनामा यो सिजनमा भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केबलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्या करिब २५ प्रतिशतले बढेको छ । 

गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरूमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ ।

 धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिँदै आएको छ ।

 शनिवार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केबलकार सञ्चालन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्