
विरगञ्ज, २८ भदौ – प्रदेश नम्बर दुईको विरगञ्ज महानगरपालिकामा व्यापारीहरुले स्थानीय निर्वाचनसँगै आफूहरूलाई आश र त्रास बढेको बताएका छन् ।
उनीहरुले स्थानीय निर्वाचन पछि व्यापार व्यवसायमा सहयोग पुग्ने गरी जनताका प्रतिनिधिले काम गर्छन् कि भनेर आश व्यक्त गरेका छन् । चुनाव सकिएपछि पनि व्यापारिक वातावरण बन्दै न कि भन्नेमा चाहिँ व्यापारीहरु सशंकित रहेका छन् ।
लामो समयसम्म भारतीय नाकाबन्दी, बन्द, हड्ताल लगायतका समस्या भोगेका विरगञ्जका व्यापारीहरुले चुनाव सकिएसँगै पूर्ण रुपमा व्यापारिक वातावरण बन्नुपर्ने बताए ।
व्यापारीहरुले जुन सकै दलको उम्मेदवार मेयर र उपमेयर बनेर आएपनि व्यापारीका समस्या समाधानका लागि जाँगर देखाओस् भन्ने अपेक्षा गरेका छन् ।
विरगञ्ज बजारमा पसल सञ्चालन गरेर बसेका उपेन्द्र चौबीले स्थानीय निर्वाचनसँगै व्यापारका लागि शान्तिपूर्ण वातावरण हुनुपर्ने बताए । उनले व्यापार बुझेको मान्छे महानगरको नेतृत्वमा आओस भन्ने अपेक्षा समेत प्रकट गरे ।
विरगञ्ज महानगर भएपनि ढलको राम्रो निकास नभएकोले व्यापारीहरुले ढल बनाइदिने मेयर पनि खोजेका छन् । बर्खामा बाहिरको पानी सिधै पसलमा पस्ने समस्याले प्रताडित भएका उनीहरुले डलको निकास खोजेका छन् ।
विरगञ्जको आदर्श नगरमा आइटी पसल सञ्चालन गरेर बसेका ३४ वर्षीय अजय जैसवालले ढल, धुवाँ र फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए ।
व्यापारीहरुले करको दायर घटाउन सहयोग गर्ने मेयर पनि खोजेका छन् । हरेक वर्ष करको दायरा बढ्दै गएपछि विरगञ्जको बजार सुकेको व्यापारी सञ्जय सौनी बताउँछन् । उनले करको दायराले गर्दा नेपालको व्यापार घटेको तर भारतको व्यापार चाहिँ बढेको बताए ।
‘अहिले विरगञ्जको व्यापार घढेको छ, विरगञ्जका स्थानीय सिमा पार गरेरै व्यापार गर्छन्,’ उनले भने, ‘त्यसैले केन्द्र सरकारसँग करका विषयमा समन्वय गर्ने मेयर चाहिएको छ ।’ समग्रमा व्यापारीहरुले शान्तिपुर्ण वातवरणमा बसेर व्यापार गर्ने अवस्था खोजेका छन् ।
कतिपय व्यापारीहरुले चाहिँ नेताहरुसँग खासै अपेक्षा नभएको बताउँछन् । चुनावका बेलामा आर्थिक सहयोग नगर्ने व्यापारीलाई धम्कीपूर्ण व्यवहार गरिएको उनीहरु बताउँछन् । ‘चुनावको बेलामा सहयोग नदिए पछि हेर्लास् भनेर समेत थर्काए,’ एक जना व्यापारीले भने, ‘यस्ता नेताहरूसँग के अपेक्षा गर्नु, जो आएपनि फरक पर्ला जस्तो छैन ।’