
गत आर्थिक वर्ष २०७९/८० मा रिलिज भएका ५७ नेपाली फिल्ममध्ये ‘शिवानी’को व्यापार सबैभन्दा कम रह्यो । यो फिल्मको ५ वटामात्र टिकट बिक्री हुँदा ५ सय २० रूपैयाँ मात्र ग्रस कलेक्सन भएको छ । चलचित्र विकास बोर्डले केही दिनअघि सार्वजनिक गरेको बक्स अफिस कलेक्सन रिपोर्टमा ‘शिवानी’को कमाइ सर्वाधिक कम रहेको उल्लेख छ ।
रौनित बेसुङ्खे, उपेन्द्र प्रसाद खड्काको निर्देशन रहेको यो फिल्ममा उत्तम विष्ट, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, निर्मल शर्मा, प्रशान्त कुमार यादवलगायतको अभिनय छ ।
यो फिल्ममा निर्मलले एउटा गीतमा मात्र अभिनय गरेका छन् । फिल्मको कमाइलाई लिएर कतिपयले व्यङ्ग्य समेत गरिरहेका छन् । आफूले अभिनय गरेको फिल्मको कमाइलाई लिएर व्यङ्ग्य हुन थालेपछि अभिनेता निर्मलले अरूको फिल्म चल्दा दुखी हुने र नचल्दा खुशी हुने प्रवृत्ति रहेको बताएका छन् ।
‘१८/२० वर्षअघि जतिबेला काठमाडाैँ सहरको भित्ता भित्तामा शुक्रवार प्रदर्शन हुने चलचित्रहरूको पोस्टर टाँसिन्थ्यो । त्यही पोस्टर टाँस्ने भाइहरुको अनुरोधमा उनीहरूको त्यतिबेलाको मेहनत अनि दुःखको सम्मान गर्दै चलचित्रका सम्पूर्ण कलाकारहरू समावेश भएको एउटा गीतमा म पनि आवद्ध भएको थिए’ निर्मलले मंगलवार फेसबुकमा लेखेका छन् ‘तर विडम्बना चलचित्र चलेन ! हामी प्रायः अरूको फिल्म चल्दा दुखी हुने र नचल्दा खुशी हुने गर्छौ । आफू नै सुध्रिनु जरुरी छ ।’