२६ जेठ २०८३, मंगलबार
महत बजेटले निम्त्याएको झमेला

हवाई टिकटमा भ्याट कार्यान्वयनको विषयले सरकार र निजी क्षेत्रबीच द्वन्द्व

साउन १२, २०८०
काठमाडौं
हवाई टिकटमा भ्याट कार्यान्वयनको विषयले सरकार र निजी क्षेत्रबीच द्वन्द्व

हवाई यातायातमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी सरकारी व्यवस्थामा निजी क्षेत्रको असन्तुष्टिले कार्यान्वयनमा अन्योलता देखिएको छ । सरकारले २०८०/०८१ को आर्थिक ऐनमार्फत हवाई टिकटमा भ्याट लगाएको छ ।

भ्याट लागेको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । कानूनी व्यवस्थाअनुसार असार १६ गतेबाटै सरकारले लगाएको हवाई टिकटको भ्याट कार्यान्वयन हुनुपर्ने भए पनि साउनको दोस्रो हप्ता बितिसक्दा समेत सरकार र निजी क्षेत्र विवाद गरेर बसिरहेका छन् ।

हवाई टिकटमा भ्याट लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अदालतकै ढोका ढक्ढक्याउन पुगिसकेको छ । ​

नाट्टाले सरकारले हवाई टिकटमा लगाएको भ्याट खारेजीको माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिटमाथि बहसका लागि आइतवार पेशी तोकिएको छ । सरकारले विना अध्ययन र तयारी हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएर नेपाल गन्तव्यलाई महंगो बनाएको ट्राभल व्यवसायीको भनाइ छ । ​

नाट्टाका अध्यक्ष रमेश थापा भन्छन्, ‘उसै त नेपाल गन्तव्य महंगो भएको गुनासो पर्यटकबाट आइरहेको छ । त्यसमाथि सरकारले १३ प्रतिशत भ्याट थप गरेपछि पर्यटक नै नआउने वातावरण बन्न सक्छ । नेपालमा पर्यटकीय वातावरणका लागि पनि हवाई टिकटमा भ्याट खारेजीको माग गरिएको छ ।’ अहिलेसम्म कार्यान्वयन गर्न सक्ने अवस्था नभएको, भ्याट लगाइसक्दा समेत स्पष्ट कार्यविधि नभएको, व्यवसायीले भ्याट तिर्न सक्ने प्रणाली पनि नभएकाले सरकारको निर्णय नै खारेजीको माग गरिएको थापाले बताए । 

थापाका अनुसार बंगलादेशमा पनि भ्याट लगाउन खोज्दा व्यावहारिक नभएकाले कार्यान्वयन हुन सकेन भने अहिले नेपालमा पनि त्यस्तै समस्या देखिएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात व्यवसायीको संस्था आयटाले पनि भ्याट नलगाउन दिएको सुझावलाई सरकारले बेवास्ता गरेको बुझाइ उनको छ ।

हवाई टिकटमा कर लगाउने विषय व्यावहारिक नभएको, कर लगाइहाले पनि विश्वकै महंगो गन्तव्य नेपाल बन्ने दाबी ट्राभल व्यवसायीको छ । हवाई टिकटमा भ्याट लगाउने बित्तिकै अहिले भइरहेको टिकटमा १३ प्रतिशत भ्याट, अर्को १३ प्रतिशत टूर प्याकेजमा थपिएको भ्याट, २ प्रतिशत विलासिता कर, वार्षिक १० प्रतिशतको मूल्यवृद्धि थपिन्छ । जसका कारण नेपालमा पर्यटक आउनै नसक्ने गन्तव्य हुने दाबी नाट्टाका महासचिव कुमारमणि थपलियाको छ ।

अहिलेको सरकारी व्यवस्थाले हवाई टिकट सस्तो बनाउनेभन्दा पनि कसरी महंगो बनाउने भन्ने देखिएको पनि उनको भनाइ छ । थपलियाका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ८६३२ नम्बरको डकुमेन्टले पनि हवाई यातायातमा शून्य भ्याट हुनुपर्ने गरी राखेको शर्त नेपालले स्वीकार गरेर हस्ताक्षर समेत गरेको अवस्थामा सोही व्यवस्था विपरीत सरकारले टिकटमा भ्याट लगाउने गरी निर्णय गर्नु नै गलत हो ।

सरकारको निर्णयले वियोण्ड द टेरिटोरीमा भ्याट लिने प्रयास भएको थपलिया बताउँछन् । उनले भने, ‘रेस्टुरेन्टमा खाना खाएजस्तो आकाशमा खाएको खानामा भ्याट लिन मिल्दैन ।’ एयरलाइन्सको टिकट एउटै गन्तव्यमा एउटै जहाजमा यात्रा गर्ने यात्रुले फरक–फरक शुल्क तिरेका हुन्छन् । यस्तो शुल्कमा एउटा टिकटमा कम शुल्क र अर्कोमा बढी हुँदा भ्याट लागेर आउँदा फरक शुल्क किन भनेर अडिटले पनि प्रश्न उठाउन सक्ने देखिएको भन्दै ट्राभल व्यवसायीले चिन्ता पनि व्यक्त गरेका छन् ।

सबै पक्षबाट विश्लेषण गरेरै हवाई टिकटमा भ्याट व्यावहारिक नै नभएको ठोकुवा नाट्टाले गरेको र सरकारले नसुनेपछि अदालत जानुपरेको नाट्टाले उल्लेख गरेको छ । नाट्टाले भ्याट खारेजीको माग गरेर बिहीवार नै सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली भने कुनै पनि हालतमा भ्याट तिर्नुपर्ने र व्यवसायीले आन्तरिक रूपमा त्यो बापतको शुल्क उठाउन थालेको पनि दाबी गर्छन् । भ्याट उपभोक्ताले तिर्ने भएकाले व्यवसायीले कानूनी व्यवस्थालाई नमान्ने भन्ने नै नहुने मैनालीको तर्क छ । 

आन्तरिक राजस्व विभागले हवाई यातायातले भ्याट तिर्नुपर्ने विषयमा कार्यविधि आइसकेको, सिस्टमबाटै वायुसेवा कम्पनीले नै भ्याट लगाएर टिकट जारी गर्ने व्यवस्था भएकाले ट्राभल व्यवसायीले असन्तुष्टि जनाउनुको खासै अर्थ नभएको पनि उनको बुझाइ छ । भ्याट लगाएर मात्रै पर्यटक घट्ने र नलगाउँदैमा ह्वारह्वार्ती आउने पनि होइन, विश्वका अन्य मुलुकले पनि लगाएको भ्याट नेपालमा मात्रै नयाँ नभएको तर्क मैनालीको छ । वायुसेवा कम्पनीले नेपालबाट बाहिरिने जुनसुकै यात्रुको हकमा भ्याट तिरेरै टिकट जारी गर्नुपर्ने दाबी मैनालीको छ ।

आन्तरिक राजस्व विभागले जारी गरेको हवाई यातायातमा भ्याट लगाउने कार्यविधिमा नेपालभित्र वा बाहिर जहाबाट टिकट जारी भए पनि वायुसेवा कम्पनीले टिकटमा भ्याट जोडेर जारी गर्नुपर्ने उल्लेख गरेको छ । कार्यविधिले दुईतर्फी हवाई टिकट जारी गर्दा नेपालमा विदेशबाट आउँदा भने हवाई टिकटमा भ्याट नलाग्ने र नेपालबाट बाहिरिँदाको हकमा मात्रै लाग्ने गरी कार्यविधि जारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्