
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आफ्नो दैनिकीदेखि विभिन्न भेटघाटसम्मका विषयलाई सामाजिक सञ्जालमा राखिरहेकै हुन्छन् ।
यस्ता पोस्टहरूमा उनले ताली र गालीमात्रै नभएर विभिन्न समस्याका फेहरिस्त पनि पाउने गरेका छन् ।
यस्तै एउटा विषय आइतवार ओलीले सामाजिक सञ्जालमा शेयर गरेका छन् । ‘कहिलेकाहीँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्वीर पनि आउँछन्। तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नुभएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्वीरमा आँखा पुगे’ उनले लेखेका छन्, ‘हेर्दा साधारण लाग्ने यो तस्वीरले मन भने पोलिरह्यो । उहाँले तस्वीर पोस्ट गर्दै लेख्नु भएको रहेछ – यसबारे पनि केही बोल्नु’
बाँदर आतङ्कको तस्वीरले आफूलाई कारुणिक बनाएको भन्दै उनले लेखेका छन् ‘ हो, अवश्य । बोल्नै पर्छ। बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ। तपाईंको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तहमार्फत यसको केही शुरुवात पनि गरेका थियौं, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिनु आवश्यक छ । सबैलाई प्रतिक्रियाको लागि आग्रह गर्दछु । खगेन्द्र पाण्डेलाई धेरै-धेरै धन्यवाद।’