
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।
नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने, “२०७२ मङ्सिर २२ गतेदेखि हामीले केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेका थियौँ, २०७९ को अन्तिमसम्म १० जनामा कलेजो प्रत्यारोपण गरेका थियौँ, केन्द्रले विसं २०८० मा तीन जनाको सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ, यही साउन ३२ गते र भदौ २ गते दुईवटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौँ ।”
विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् रु १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँसमेत जोगिएको र कलेजो प्रत्यारोपण सहज भएको उनले बताए । नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्दा विदेशी विशेषज्ञ चिकित्सकको टोलीको नेतृत्वमा नेपालका चिकित्सकसहितको संलग्नतामा भएकोमा पछिल्लो समयमा नेपालकै चिकित्सकको दक्षता बृद्धि गरी स्वदेशकै चिकित्सकबाट कलेजो प्रत्यारोपण सेवा निरन्तर गरिरहेको उनले बताए ।