३२ असार २०८३, बिहीबार

मुकुनका दुईवटा फिल्म एकैदिन रिलिज हुँदै

भदौ ५, २०८०
काठमाडौं
मुकुनका दुईवटा फिल्म एकैदिन रिलिज हुँदै

अभिनेता मुकुन भुसाललाई यतिबेला फिल्म प्रचारप्रसारको धपेडि छ । आफू अभिनीत दुई फिल्महरू एकैदिन रिलिज हुने भएपछि उनी प्रचारप्रसारको दौडधुपमा छन् । भदौ १४ गतेबाट प्रदर्शनमा आउने ‘ऐंचो पैंचो’ र ‘गणपति’ दुवै फिल्ममा मुकुन शीर्ष भूमिकामा छन् । 

एउटै मितिमा दुईवटा फिल्म रिलिज नहोस् भन्ने आफ्नो चाहना रहेको मुकुन बताउँछन् । यद्यपि, फिल्म रिलिजको मिति कलाकारको वशमा नभएको उनले बताए । 

‘रिलिजको कुरा विल्कुल निर्माता, निर्देशक, वितरकको रोजाइमा भर पर्ने रहेछ । एउटै मितिमा दुईवटा फिल्म आउँदा केही असर त पक्कै गर्छ’ मुकुनले लोकान्तरसँग भने, ‘एउटै समयमा दुई फिल्मको प्रचारप्रसारमा खटिनुपर्यो । मेरो घरमै सदस्यले पनि पहिले कुन फिल्म हेर्ने भन्ने सन्दर्भमा बाँडिने भए ।’

केही ग्यापमा फिल्म आउँदा कलाकार निरन्तर सक्रिय देखिने र प्रचारप्रसारका लागि समय दिन पनि सजिलो हुने मुकुनले बताए ।

उनी यतिबेला दुईवटै फिल्मको प्रचार गरिरहेका छन् । ‘रिलिजको सन्दर्भ कलाकारको वशमा रहेन । पक्कै पनि निर्माताज्यूहरुले त्यो डेटलाई सुरक्षित ठानेर, आफ्नो प्रोडक्टमा विश्वास गरेरै आउनुभएको छ’ उनले भने, ‘फिल्महरू अलगअलग जनराका छन् । म चाहिँ दुईवटै फिल्मबाट आशावादी छु ।’ ​

कृषा चौलागाईँको निर्देशनमा बनेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, मुकुन भुषाल लगायतको अभिनय छ । 

त्यस्तै, सविन अधिकारीको निर्देशनमा बनेको ‘गणपति’मा मुकुनसँगै मेनुका प्रधान, प्रकाश घिमिरे, राजाराम पौडेल, सूर्यमाला शर्मा, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ । 

‘बुलबुल’बाट दर्शकमाझ बलियो छाप छाडेका मुकुन अभिनीत ‘झिंगेदाउ’ गतवर्षको हिट फिल्म हो । उनी रेखा थापाको आगामी फिल्म ‘उपहार’मा पनि अनुबन्धित भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्