२५ जेठ २०८३, सोमबार
पर्यटन मन्त्रीका कामभन्दा विवाद बढी

सिंहदरबारमा सुदन किराँतीका ७ महिना– मातहत निकायसँग झगडा गर्दैमा बित्यो समय

भदौ ११, २०८०
काठमाडौं
सिंहदरबारमा सुदन किराँतीका ७ महिना– मातहत निकायसँग झगडा गर्दैमा बित्यो समय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकालको पहिलो ७ महिना मातहतका निकायसँग झगडा गर्दैमा बिताएका छन् । मन्त्रीहरूमध्ये किराँती कमजोर ‘पर्फरमेन्स’ भएको भनेर आलोचित समेत छन् ।

जनमत पार्टीलाई सरकारमा ल्याउने बेला हटाउने भन्ने चर्चाका बीच उनको पद जोगिएको थियो । त्यतिबेला माओवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर जनमतलाई सरकारमा ल्याएको छ ।

३ माघमा मन्त्री नियुक्त भएका किराँतीले पर्यटन मन्त्रालयको नेतृत्व साम्हालेपछि गरेको पहिलो निर्णय खादामाला नलगाउने र त्यसबापतको पैसा कोष बनाएर सामाजिक कल्याणमा लगाउने भन्ने थियो । 

उनको यो निर्णयलाई सकारात्मक मानिए पनि त्यसपछिका घोषणा र कामकारवाही भने प्रायः ''स्टन्टबाजी''मै सीमित छन् । 

मन्त्री किराँतीले वायुसेवा निगमसँग बिफ्रिङ लिने कार्यक्रममा दिएको अभिव्यक्ति निकै मर्मस्पर्सी थियो । किराँतीले निगमको अवस्था देखेर आँसु झार्न बाध्य बनाएको बताएका थिए ।

मन्त्री किराँतीले तत्कालै सुधार गर्ने भनेर अगाडि बढाएका योजनाले अहिलेसम्म गति लिन सकेको छैन । वायुसेवा निगम सुधार गर्न २ महिनाको समय दिएर गठन गरेको अध्ययन समितिले तोकिएको समयमा काम गर्न सकेन । अध्ययन समितिलाई २ महिनाको समय दिएको भए पनि ३ महिना बितिसक्दा समेत समितिले आफ्नो काम सकेको छैन ।

समितिले पाएको ३ महिनाको समय २८ साउनमा सकिएको छ, तर प्रतिवेदन बुझाउने टुंगो छैन । मन्त्री किराँतीले अध्ययन समितिलाई निर्देशन दिन नसकेको र समितिले पनि मन्त्रीले दिएको समयसीमा बेवास्ता गरेको स्थिति छ । सोही कारण न समयमा प्रतिवेदन तयार भयो, न त निगम सुधारको योजना नै अगाडि बढ्यो । त्यसो त नयाँ पर्यटन मन्त्री आएपिच्छे गठन हुने समिति र अध्ययन प्रतिवेदन यत्तिकै थन्किने गरेका छन् ।

मन्त्री किराँती सिम्रिक एयरलाई काभ्रेमा हेलिपोर्ट सञ्चालन गर्न दिने निर्णय गरेर पनि विवादमा आए । मन्त्रीले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको ऐनविपरित निजी क्षेत्रलाई हेलिकप्टर उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) सञ्चालन गर्न दिने निर्णय गरे । मन्त्रीको उक्त निर्णयमा भएको विवाद चरम उत्कर्षमा पुग्यो भने उड्डयन प्राधिकरणले मन्त्रीको निर्णयलाई नै खारेज गरिदियो । 

मन्त्री सञ्चालक समितिको अध्यक्ष हुने प्राधिकरणले निर्णयमा ब्रेक लगाएपछि किराँती क्रुद्ध भए । मन्त्रीले नियामक निकायसँग जोरी खोज्दै ‘अन्टसन्ट’ प्रश्न सोधेरे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधे ।

मन्त्रीले सोधेको स्पष्टीकरणमा प्राधिकरणका महानिर्देशकले जवाफ नै दिन आवश्यक ठानेनन् । मन्त्रीले पुनः स्पष्टीकरण सोधेर कारवाही किन नगर्ने भन्दै मातहतकै कर्मचारीसँग निहुँ खोज्न मात्रै थाले । काम लिनुपर्ने निकाय र कर्मचारी रिझाएर आफ्नो कामबाटै प्रभावकारिता देखाउनुपर्ने मन्त्री व्यक्तिगत इगो साँध्न थाले  ।

मन्त्री किराँतीले अटेर गर्ने र आफ्नो सीमाभित्र नबस्ने कर्मचारीलाई हटाउने अभिव्यक्ति दिँदै हिँडे, उनी स्वयंलाई ब्याकफायर भयो । प्राधिकरणसँगको विवाद अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुगेर मात्र थामथुम पारियो । मन्त्रीले थप ‘एक्सन’ नलिने र प्राधिकरणले पनि मन्त्रीले सोधेको स्पष्टीकरण दिने विषयमा सहमति त भयो, तर मन्त्री र प्राधिकरणबीचको तिक्तता भने हटेन ।

मन्त्री किराँतीसँग वायुसेवा निगमको पनि सम्बन्ध भने बन्न सकेन । मन्त्री किराँती आफैं निगममा आफन्त र कार्यकर्ता भर्ती गर्दै बसेका छन् । आर्थिक अवस्था कमजोर भएको निगममा मन्त्री किराँतीले १५० जना कर्मचारी भर्ती गरेका छन् । मन्त्रीले सम्बन्धित काममा अनुभव नभएका तथा निगमलाई आवश्यक नरहेका जनशक्ति भर्ना गरेको भन्दै वायुसेवा निगमका कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन । निगमका कर्मचारी संगठनले मन्त्रीलाई जथाभावी नियुक्ति नगर्न र निगमको हितविपरीत काम नगर्न समेत आग्रह गर्दै आएका छन् । 

मन्त्री किराँतीले निगमको ग्राउन्डेड जहाज उडानमा पहल नगरेको, निगमको जहाजका लागि मेन्टिनेन्स एन्ड रिपेयर/ओभरहल (एमआरओ)बनाउन जोड नदिएको, १७ जुनदेखि ग्राउन्डेड भएको निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी जहाज सञ्चालनमा नआउँदा यसमा भएको समस्या समाधान गर्न निगमलाई सहजीकरण नगरेको आरोप लागेको छ । 

निगमसँग निहुँ खोजेर बसिरहेका मन्त्री किराँतीले निगमका समस्या समाधानमा जोड नदिएको र आवश्यक पहल नगरेको पनि आरोप लागिरहेको छ । मन्त्रीले समस्या समाधानमा पहल नगरेको भन्दै निगमका कर्मचारी असन्तुष्ट छन् । मन्त्रीले समय नदिएका कारण भेट समेत हुन नसकेको नेवानि कर्मचारी संघका महासचिव हेम लम्सालले बताए ।

नेवानि कर्मचारी संगठनका महासचिव महेश भट्टराई भने निगमले आवश्यक गृहकार्य गरिरहेको र विस्तारै काम भइरहेको बताउँछन् । उनले भने, ‘सबै संस्थानहरूमा समस्या छन्, निगममा पनि नभएको होइन, तर आन्तरिक काम चलिरहेकै छ । समस्याको समाधान गर्दै अगाडि बढ्ने हो ।’

निगमले जहाज किन्दाको ऋणको किस्ता घटाइरहेको छ भने आन्तरिक उडानमा ३ वटा जहाज किन्ने प्रस्ताव पर्यटन मन्त्रालय पठाएको छ । तर, मन्त्रालयबाट उक्त प्रस्ताव अगाडि बढेको भने छैन ।  

३२ साउनमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई निर्देशनसहितको स्पष्टीकरण सोधेका मन्त्री किराँतीले पर्यटन सुधारका नाममा 'स्टन्टबाजी' मात्र गरेको मन्त्रालयकै एक कर्मचारीले बताए ।

‘कर्मचारी रिझाएर काम लिनुपर्नेमा यत्तिकै चलाएर निहुँ खोज्दै हिँडेकाले कामै नदेखिएको हो । मन्त्रीले कर्मचारी रिझाउन नसक्दा मातहतको निकायले नटेर्ने समस्या बढेको हो,’ उनले भने ।

पर्यटन मन्त्री किराँतीका सञ्चार संयोजक राजन राई भने कामको परिणाम खोजेरै स्पष्टीकरण सोध्ने तथा कर्मचारीहरूलाई अनुशासनमा बाँध्ने काम भएको बताउँछन् ।

‘हामीले कामको परिणाम खोजेर नै मातहतका निकायलाई स्पष्टीकरण सोधेको हो । ती स्पष्टीकरणभन्दा पनि मातहतका कार्यालयलाई आफ्ना गतिविधि र कामबारे स्पष्ट पार भन्न खोजेको हो,’ राईले थपे, ‘वायुसेवा निगमले नयाँ विमान किन्ने तयारी गरेर अगाडि बढ्दै छ । अस्ट्रेलिया उडान गर्ने तयारी छ । नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा निगम गइरहेको छ ।’

काम भइरहेको र परिणाम देखिन समय लाग्ने उनको भनाइ छ । मातहतका निकायले मन्त्रीलाई टेर्न छाडेको भन्ने कुरालाई पनि उनले खण्डन गरे ।

‘मन्त्रीलाई मातहतका निकायले नटेरेको भन्ने कुरा साँचो हैन, मन्त्रीले कसैलाई एक सातादेखि कसैलाई वा सो भन्दा बढीको 'होमवर्क' दिएका छन्, सोहीअनुसार काम भइरहेको छ,’ उनले भने ।

निगमको जहाज दुई महिनादेखि थन्किएको विषयमा पनि मन्त्रालयले चासो देखाएको उनले बताए । बाँकी निकायसँग पनि निरन्तर समन्वय र काम भइरहेको उनको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्