
विजय शर्मा बुवा पुस्ताका नेपाली क्रिकेटर हुन् । उनले वि.सं. २०३७ देखि २०५१ सम्म राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू खेले ।
त्यो बेला नेपालको राष्ट्रिय क्रिकेट टोली गठन भएको थिएन, त्यही भएर अब्बल हुनुका बावजुद उनले नेपालका लागि अन्तर्राष्ट्रय प्रतियोगिताहरू खेल्न पाएनन् । उनले अहिले क्रिकेट विश्लेषण गर्दै आइरहेका छन् ।
यसैबीच, नेपालले बुधवार एसिया कपको डेब्यू खेल खेल्यो । घरेलु टोली पाकिस्तानविरुद्धको उक्त खेलमा नेपाल भारी अन्तरले पराजित भयो ।
यस नतिजा र नेपालको प्रदर्शनबारे पूर्वक्रिकेटर तथा विश्लेषक शर्माले कुराकानी गरेका छन् । उनले लोकान्तरकर्मी दीपेन्द्र सापकोटासँगको कुराकानीमा नेपाल पराजित हुनुका कारणहरूबारे यसरी विश्लेषण गरे ।
१. सोचेजस्तो नतिजा होइन
नेपाल पाकिस्तानसँग हार्छ, भन्ने थाहा थियो । तर, यसरी २३८ रनको फराकिलो अन्तरले हार्ला भन्नेचाहिँ लागेको थिएन । यतिसम्म लज्जास्पद तरिकाले पराजित होला भन्ने थिएन । मेरा लागि यो अप्रत्यासित नतिजा रह्यो । नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै कुरामा चुकेकाले यस्तो नतिजा आएको हो ।
२. अपरिपक्क ब्याटिङ
नेपाल फराकिलो अन्तरले पराजित हुनुको प्रमुख कारण ब्याटिङ लाइनअपमा कमजोरी देखिनु हो । कम्तीमा पनि नेपालले २०० देखि २५० सम्म रन हान्छ भन्ने लागेको थियो, तर त्यस्तो भएन । जम्मा १०४ रन मात्र हान्यो । ठूलो खेलमा नेपाली ब्याटिङ अपरिपक्क देखियो । पाकिस्तानले जस्तो धैर्यतापूर्वक ब्याटिङ गर्नुपथ्र्यो । तर, नेपाली ब्याटरहरूमा कत्ति पनि धैर्यता देखिएन । उदाहरण लागि– दुई विकेट पतन भएपछि पाकिस्तान दबाबमा आएको थियो ।
२८ ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेटको क्षतिमा १२५ रन बनाएको थियो । यो नेपालजस्तो सानो टोलीसँग खेल्दा पाकिस्तानका लागि ठूलो दबाबको अवस्था हो । यस्तोमा पाकिस्तानका ब्याटरहरू सम्हालिए । कप्तान बाबर आजमले ठूला शट नखेलिकन ३८–४० ओभरसम्म टोलीलाई टिकाए । त्यसपछि मात्रै उनीहरू ठूला सट हान्न थाले । तर, नेपालले शुरूदेखि नै चौका हान्न खोज्यो ।
एक–दुईवटा चौका हान्दैमा खेल जितिँदैन, स्ट्राइक रोटेड गरेर विस्तारै खेलेर मात्रै जितिन्छ भन्ने नेपाली ब्याटरले बुझ्नुपर्छ । यो कमजोरी नसुधार्ने हो भने नेपाली क्रिकेट धेरै माथि जान सक्दैन ।

३. राम्रो गरिरहेका बलर परिवर्तन गरिनु
ब्याटिङजस्तै बलिङमा पनि नेपालको कमजोरी देखियो । ओपनिङमा आएका करण केसी र सोमपाल कामीले राम्रो बलिङ गरिहेका थिए । यसले गर्दा पाकिस्तानका ब्याटर आत्तिसककेका थिए । करण र सोमपालले रिदममा बलिङ गर्दागर्दै कप्तान रोहित पौडेलले अरू बलर ल्याए । ती बलरले लयमा बलिङ गर्न सकेनन् । पछि सोमपालले पनि शुरूको जस्तो गर्न सकेनन् । दुई विकेट लिनुका बाबजुद उनले १० ओभरमा ८५ रन खान पुगे । बलिङ स्ट्राटेजीमा कप्तान रोहितकुमार पौडेलको कमजोरी देखियो । तर, क्रिकेटमा यस्तो हुन्छ, सुधार्दै जानुपर्छ ।
४. फितलो फिल्डिङ
खेल जित्नलाई ब्याटिङ र बलिङ राम्रो भएर मात्र हुँदैन, फिल्डिङ पनि उत्तिकै चुस्त हुनुपर्छ । तर, हिजो नेपालको फिल्डिङमा धेरै कमजोरी भए ।
नेपालको फितलो फिल्डिङका कारण पाकिस्तानका कप्तान बाबरले दुईपटक जीवनदान पाए । यदि उनको क्याच मिस नभएको भए नेपाल यति फराकिलो अन्तरले हार्ने थिएन । सन्दीप लामिछानेको नाममा थप विकेट हुन्थ्यो भने ललित राजवंशीले पनि विकेट लिएका हुन्थे । यस्तै, फिल्डिङकै कमजोरीका कारण सन्दीपले गरेको बलिङमा दुईपटक अनावश्यक चौका हुन पुग्यो ।
५. बलिङ पेस नहुनु
ठूला टोलीसँग खेल्दा नेपाली बलरमा पेस देखिएन । पाकिस्तानका खेलाडी १५० किलोमिटर पर आवरमाथिको स्पीडसम्म बलिङ गर्न सक्छन् । त्यसको तुलनामा नेपालका बलरको स्पीड १२० को हाराहारीमा । कम्तीमा पनि १३०–१३४ को गतिमा बलिङ हुन आवश्यक छ । यसका लागि नेपाली बलरले डाइट र ट्रेनिङमा ध्यानु दिनुपर्यो ।
६. शाहीनसँग सजग नहुनु
पाकिस्तानका शाहीन शाह अफ्रिदी विश्वकै नम्बर वान ब्याटरका लागि पनि टाउको दुखाइ हुन् । उनीसँग भारतजस्तो टीम पनि सजग रहन्छ । तर, नेपाली खेलाडी सजग भएको देखिएन । नेपाली ब्याटरहरूले उनले गर्ने १० ओभरमा रन हान्नेभन्दा पनि कसरी टिक्ने भन्ने विचार गर्नुपथ्र्याे ।
७. खेलाडीलाई काउन्सिलिङ पुगेन
ठूला खेलमा जानुअघि खेलाडीलाई काउन्सिलिङ गर्न आवश्यक हुन्छ । उनीहरूलाई मानसिक रूपमा तयार गर्न र प्रतिद्वन्द्वीबारे सजग गराउन काउन्सिलिङ आवश्यक हुन्छ, त्यो नेपाली टोलीमा देखिएन ।
मोन्टी देसाई प्राविधिक रूपमा राम्रो प्रशिक्षक हुन् । उनले काउन्सिलिङ पनि गर्छन् भन्ने सुनेको छु, यद्यपि त्यो पर्याप्त हुँदैन । भारत, पाकिस्तानजस्ता टीमसँग खेल्दैगर्दा छुट्टै काउन्सिलरको व्यवस्था हुनुपथ्र्यो ।

८. ठूला खेलको तयारी पुगेन
नेपालले भारत, पाकिस्तानजस्ता ठूला टोलीहरूसँग खेल्दैछ भन्ने जान्दाजान्दै त्यो अनुसारको तयारी पुगेन । ठूला राष्ट्रिय टोलीसँग अभ्यास खेल्ने पैसा नेपाल क्रिकेट संघ (क्यान)सँग थिएन होला मानिन्छ, तर हामीले भारतकै बिहार, युपी, बंगाल, महाराष्ट्र आदि राज्यका ठूला टोलीसँग अभ्यास खेल खेल्न सक्थ्यौं, त्यो भएन । ठूला टोलीसँग अभ्यास नगरी यस्ता ठूला प्रतियोगितामा जानु नै बेकार हो । यस्तो हुनुमा क्यानमा भएको राजनीति प्रमुख हो ।
हामी खेल सुधारमा भन्दा बढी राजनीतिमा अल्झिराखेका छौं । अब क्यानमा क्रान्तिकारी परिवर्तनको आवश्यकता छ ।
९. खेलाडी व्यावसायिक देखिनुपर्थ्यो
नेपाली खेलाडीले आफ्नो घरेलु मैदानमा जस्तो खेल्छन्, त्यति बाहिर खेल्न सकिरहेको देखिएन । व्यावसायिक खेलाडीले सबै कन्डिसनमा खेल्न सक्नुपर्छ, चाहे त्यहाँ गर्मी होस् या जाडो । अहिले पाकिस्तानको मौसम गर्मी होला । ४०–४२ डिगीसम्म पनि होला, तर व्यावसायिक खेलाडी भएपछि यत्तिकोमा खेल्न सक्ने हुनुपर्छ । सबैतिर नेपाल र न्युजिल्यान्डको जस्तो मौसम हुँदैन नि !
१०. सन्दीपको मुद्दा किनारा नलाग्नु
नेपालको सबैभन्दा ठूलो हतियार सन्दीप लामिछाने हुन् । मुद्दा नसल्टिएकाले उनी खुशी देखिएका छैनन् । उनको अनुहार हेर्दा पनि लाग्छ, उनी शतप्रतिशत खुसी छैनन् । मुद्दाको पेसी सधैं सर्छ । यसमा केही ठूलै खेल छ कि भन्ने शंका लागेको छ ।