२३ असार २०८३, मंगलबार

‘एक भगवत गीता’ विवाद : कसरी जुट्यो सहमति ?

नयाँ शीर्षकको पोस्टर सार्वजनिक
भदौ २४, २०८०
काठमाडौं
‘एक भगवत गीता’ विवाद : कसरी जुट्यो सहमति ?

झरना थापाको निर्देशन रहेको फिल्म ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद टुंगिएको छ । 

फिल्मको शीर्षक परिवर्तन गरेर ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमतिसँगै दुई सातादेखिको विवाद आइतवार टुंगिएको हो । 

हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै एक दर्जन धार्मिक संस्थाहरूले आपत्ति जनाएका थिए । 

उनीहरूले फिल्मको नाम परिवर्तनको माग राख्दै चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा समेत निवेदन बुझाएका थिए । उक्त नामले धार्मिक आस्थामा चोट पुग्ने बताउँदै नाम परिवर्तन नभएसम्म फिल्मलाई बोर्डबाट सेन्सरका लागि सिफारिस नगरिदिन धार्मिक संस्थाहरूको अनुरोध थियो । 

त्यसपछि विकास बोर्डले सेन्सर सिफारिसलाई थाती राखेर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

null

आइतवार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मको टिम, धार्मिक संस्थाका प्रतिनिधि, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित अन्य फिल्मकर्मीहरूको समेत सहभागितामा २ घण्टा लामो छलफल भएको थियो । पाँचौं पटकको उक्त छलफलपछि नाम परिवर्तन गर्नेमा दुवै पक्षबीच सहमति जुटेको हो ।

निर्माता एवं अभिनेता दीपकराज गिरीले फिल्म प्रदर्शनको अन्तिम घडीमा नामै परिवर्तन गर्न निर्माण पक्षलाई अप्ठ्यारो हुने बताउँदै धार्मिक संघसंस्थाका प्रतिनिधिलाई सहमतिका लागि सहजीकरण गरिदिएका थिए ।

फिल्मको नयाँ शीर्षकका लागि पनि थुप्रै नामहरू सिफारिस गरिएको थियो । ‘एक भागवत र एक गीताको कथा’, ‘एक भागवत र एक गीताको प्रेमकथा’, ‘एक गीता भगवत’, ‘एक भागवत’ वा ‘एक गीता’, ‘अर्को भागवत गीता’, ‘एक भागवत–गीता’ आदि नाम सिफारिस भएका थिए ।

नामलाई लिएर सहमति जुट्न नसकिरहँदा निर्देशक दीपेन्द्र के. खनालले ‘एक भागवत एक गीता’ शीर्षक सिफारिस गरेका थिए । यस शीर्षकमा निर्माण पक्ष सहमत भयो ।

धार्मिक संस्थाका प्रतिनिधिहरूले भने शीर्षकमा ‘र’ थप्नुपर्ने तथा ब्राइकेटभित्र सामाजिक कथा लेख्नुपर्ने सर्त अघि राखेका थिए । त्यसमा पनि निर्माण पक्ष सहमत भएपछि विवाद टुंगोमा पुगेको हो । 

नयाँ शीर्षकमा सहमति जुटेपछि बोर्ड अध्यक्ष भुवन केसीले दुवै पक्षलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए । उनले विकास बोर्डले सेन्सर सिफारिस रोक्न नमिल्ने बताउँदै दुवै पक्षलाई मिलाउने प्रयास गरेको बताए ।

दुई पक्षबीचको सहमतिले भोलिका दिनमा हुनसक्ने ठूलो दुर्घटना टरेको उनले बताए । ‘हामीले सेन्सर सिफारिस रोक्न मिल्दैन । र, रोकेका होइनौं पनि । फिल्म रोक्ने–नरोक्ने अधिकार त सेन्सर बोर्डलाई हुन्छ’ अध्यक्ष केसीले भने, ‘नाममा आपत्ति जनाउँदै धर्म गुरुहरू आइसकेपछि यसलाई सहज तरिकाले मिलाउन सके राम्रो हुन्थ्यो भनेर दुवै पक्ष राखेर मिलाउने कोसिस विकास बोर्डले गरेको हो । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो । त्यो नहोस् भन्नकै लागि बोर्डले सहमतिको प्रयास गरेको थियो ।’ 

आइतवारको छलफलमा फिल्मको टिम र धार्मिक संघसंस्थाका प्रतिनिधि, विकास बोर्ड अध्यक्ष केसीका साथमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्माता एवं अभिनेता दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के. खनाल लगायत उपस्थित थिए । 

null

फिल्मकर्मी एवं धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले बोर्ड अध्यक्ष केसीको संयमता र धैर्यता सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए । अब फिल्म प्रदर्शनमा कुनै पक्षबाट विरोध वा व्यवधान नगर्ने र प्रचार एवं प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्ने सहमति समेत भएको छ । विवाद मिलेसँगै फिल्मको सेन्सर प्रक्रिया शुरु भएको जनाइएको छ । 

भदौ २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरको शीर्ष भूमिका छ ।

सुनीलकुमार थापा फिल्मका निर्माता हुन् । सहमति जुटेसँगै नयाँ शीर्षकको पोस्टर समेत निर्माण पक्षले आइतवार नै सार्वजनिक गरिसकेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्