![दण्डहीनतालाई प्रश्रय मिल्यो, गम्भीर चिन्तन गरौं– मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मी [कुराकानी]](https://lktcdn2.prixacdn.net/media/khilraj-regmi-Banner_ChDbyJEPRf.png)
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा अहिले सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।
हत्याजस्तो जघन्य अपराधमा ४० प्रतिशत मात्र कैद भुक्तान गरेका व्यक्तिलाई राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफीमिनाहा दिएपछि पीडित परिवारले अन्याय महसुस गरिरहेको छ । साथै, मृतक चेतनकी पत्नीले रिले अनशन समेत शुरू गरेकी छन् ।
जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत जन्मकैदको सजाय तोकेका व्यक्तिलाई माफी दिइएपछि दण्डहीनताले प्रश्रय पाएको भनेर पनि चिन्ता व्यक्त भइरहेको छ । यस विषयमा सर्वोच्चमा रिट परेर विचाराधीन अवस्थामा समेत छ ।
यसै सन्दर्भमा लोकान्तरकर्मी अजय अनुरागीले मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएको विषयको अहिले चौतर्फी विरोध भइरहेको छ । यो विषयलाई तपाईंलेचाहिँ कसरी हेर्नुभएको छ?
तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्तिलाई सरकारको सिफारिशमा राष्ट्रपतिले कैद माफी मिनाहा दिनुभएको छ । संविधानदिवसकै अवसरमा दिएको माफी मिनाहा संविधान, विधिको शासन र दण्डसम्बन्धी कानूनी सिद्धान्त एवं मान्यता अनुकूल छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । यसमा अहिले गम्भीर प्रश्न उठेको छ र गहन छलफल तथा विमर्शको विषय पनि बनेको छ ।
पीडितपत्नीको चित्कार र न्याय खोसिएको अनुभूति भयो भन्ने पीडादायी अभिव्यक्तिले जोसुकैको ध्यान गम्भीररूपले आकर्षण गरेको छ ।
यस्तो गम्भीर अपराधका दोषीलाई माफी दिन मिल्छ?यसबाट कस्तो सन्देश गएको छ ?
नेपालको संविधानले अपराधपीडितलाई न्याय पाउने हक सुरक्षित गरेको र प्रस्तावनाले कानूनी राज्यको अवधारणाप्रतिको प्रतिबद्धतालाई आत्मसात गरेको छ ।
दिनदहाडै हुल बाँधेर संगठितरूपमा गरिएको गम्भीर र जघन्य किसिमको अपराधमा माफी दिने/दिलाउने कामले समाजमा गम्भीर एवं नकारात्मक सन्देश गएको छ । त्यसले दण्डहीनतालाई प्रश्रय दिएको सन्देश पनि स्वाभाविक रूपमा गएको छ ।
राज्यले पीडितलाई न्याय दिनुपर्ने हो,तर यसले त झन अन्याय भयो नि हैन ?
पीडितले अन्याय महसुस गरी पीडाबोध गर्ने अवस्था र आम जनसमुदायको पीडितप्रतिको सहानुभूतिले संविधान, कानून एवं कानूनी राज्यको मूल्य मान्यताप्रति बेवास्ता गरिएको उदाहरण प्रस्तुत घटना हुन पुगेको छ, यो वाञ्छनीय होइन ।
जस्तोसुकै अपराधमा पनि सरकार र राष्ट्रपतिकहाँ पहुँच पुर्याउनेले माफीको लाभ प्राप्त गर्ने रहेछन् भन्ने परेपछि दण्डहीनता मौलाउने भयो । सक्नेले, जे गरे पनि हुने रहेछ भन्ने सन्देश जाने भयो । यसबारे चिन्तन मनन गरौं । न्यायपूर्ण समाज निर्माणमा संवैधानिक प्रावधानको सदुपयोग गरौं । सजाय पाएकाको मात्र होइन, पीडितको आवाज अझ गम्भीररूपले सुनौं, विचार गरौं । जसरी हुन्छ, पीडितलाई न्यायको अनुभूति दिलाऔं ।
अर्को प्रसङ्ग: अहिले विभिन्न जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गरी प्रदर्शन र झडप भइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?
सामाजिक सद्भाव बिथोल्ने, धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने स्थिति आउनु गम्भीर विषय हो । यो शान्तिप्रिय नेपालीका लिग दुर्भाग्यको कुरा पनि हो ।
आपसी सद्भाव बिथोल्ने र धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने कुराले शान्ति सुरक्षामा खलल पुग्न गएको छ ।
आपसी सद्भाव, धार्मिक र सामाजिक सहिष्णुता कायम गर्दै अघि बढ्नु आजको आवश्यकता हो । अन्तरविरोध र मनोमालिन्यले हामीलाई कहीँ पुर्याउँदैन । त्यसैले सम्बन्धित सबैलाई संयमित भई शान्ति, सद्भाव कायम राख्न र सहिष्णुता प्रदर्शन गर्न आग्रह गर्दछु ।