३२ असार २०८३, बिहीबार
कांग्रेसको बदलिँदो शक्ति सन्तुलन

कोशी प्रकरणको ‘साइड इफेक्ट’ : कांग्रेसमा प्रस्ट तीन धार !

कात्तिक १, २०८०
काठमाडौं
कोशी प्रकरणको ‘साइड इफेक्ट’ : कांग्रेसमा प्रस्ट तीन धार !

कोशीमा ८ सांसदले विद्रोह गर्दै एमालेको समर्थनमा सरकार बनाएपछि नेपाली कांग्रेसमा स्पष्ट तीन धार देखिन थालेका छन् । यसअघि संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवा र इतर पक्षको नेतृत्व डा. शेखर कोइरालाले गर्दै आएका थिए ।

पार्टी संस्थापनले आफूलाई बेवास्ता गर्दै गठबन्धनका तर्फबाट माओवादी सांसदलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेपछि कोशीमा शेखर पक्षले विद्रोह गरेको छ । यो विद्रोहमा शेखर पक्ष पनि एक ठाउँमा उभिन सकेन । 

शेखरकै टीमबाट महामन्त्री जिते पनि गगन थापा कोशीको मामिलामा उनीसँग भएनन् । अर्का महामन्त्री आफ्नै प्रदेशमा भएको यो विद्रोहप्रति खुलेरै विरोधमा देखिए, जसको परिणाम अब कांग्रेसमा तत्काल संस्थापन (देउवा), शेखर र गगन–विश्व समूह सतहमा देखिएका छन् । 

शेखर पक्षको कदमको विरोध गर्दैगर्दा गगन र विश्व संस्थापननिकट पनि देखिएका छैनन् । बरु दुवैले दुवै (देउवा र शेखर)को विरोध गरेका छन् । 

पार्टीमा पर्याप्त छलफल नगरी सभापतिले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेको र मिलाउन सकिने ठाउँ हुँदाहुँदै आपसी परामर्श नै नगरी शेखर विपक्षी एमालेसँग मिलेको भन्दै गगन–विश्वले दुवैप्रति असमझदारी देखाएका हुन् ।

१५औं महाधिवेशनमा फेरि पनि शेखर टीमको नेता रहँदै सभापतिमा अगाडि बढ्ने तयारीबाट पछाडि हटिसकेका छैनन् । सँगै गगन र विश्व पनि आफूहरू अब परम्परागत राजनीतिबाट माथि उठ्दै पार्टीमा दीर्घकालीन हस्तक्षेप हुने गरी काम गर्ने मनस्थितिमा छन् ।

कोशीको अप्रत्याशित विद्रोहपछि सभापति देउवाले गगन थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई छलफलका लागि धुम्बाराहीस्थित निवासमा बोलाएका थिए । 

देउवासँगको छलफलपछि शर्माले दुवै टीमप्रति आक्रोश व्यक्त गरेनन्, तर देउवा र शेखरको कमजोरीको परिणाम कोशीमा देखिएको प्रस्टै बताए । 

शेखर कोइराला‘कोशीमा अहिले जे भएको छ, त्यो घटनाको सभापति र फरक मत राख्ने समूहको नेताले गम्भीर आत्मसमीक्षा गर्नैपर्छ । उहाँहरू दुवै सुध्रिन आवश्यक देखिएको यो घटनाले देखायो,’ शर्माले भनेका थिए, ‘यो प्रकारको दुर्घटना किन भयो ? कसरी भयो ? यसको सबैभन्दा ठूलो जिम्मेवारी र अंशियारी सभापतिले लिनुपर्छ ।’  

यति ठूलो घटना भएपछि शर्माले गम्भीर आत्मसमीक्षा नगरे फेरिफेरि यस्तै गल्तीको सामना गर्नुपर्ने बताएका छन् । शेखरले असन्तुष्टि व्यक्त गरे पनि एमालेसँग मिलेर विद्रोह गर्ने हदसम्म उनी पुग्लान् भन्ने आकलन देउवाले गरेका थिएनन् । तर, अस्वाभाविक रूपमा शेखरले यो कदम उठाएपछि देउवा झस्किएको उनीनिकट स्रोत बताउँछ । 

देउवाले हतारमा आफू, प्रधानमन्त्री र शेखरबीच एक बुँदे हस्तलिखित सहमति गरी देउवाले सत्ता गठबन्धनप्रति प्रतिबद्ध रहेको सन्देश दिएर कोशीलाई सेफ ल्यान्डिङ गराउन खोजेको सन्देश दिएका थिए । आपसी इगोले बिग्रिन खोजेको परिस्थितिलाई यो एक बुँदेले ट्रयाकमा ल्याउने विश्वास देउवा र प्रचण्ड दुवैको थियो । 

‘कोशीको यो विद्रोह एउटा सरकार बन्ने विषयसँग मात्रै सम्बन्धित छैन, नेतृत्वको वैमनस्यता र अन्तरर्विरोधको गहिराइ कति छ भन्ने पनि प्रस्ट देखिएको छ,’ दाहाल भन्छन्, ‘देउवा, शेखर, गगन–विश्व गरी तीनवटा धार यो घटनापछि सतहमा आएका छन् ।'

लगत्तैदेखि प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने भनी चितवनमा पुगेर दाबी पनि नगरेका होइनन्, तर उता एमाले पनि के कम आफ्नो समर्थनमा कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बनेपछि आफूहरूकै हिस्साको सरकार बन्नुपर्ने अडान राख्यो । बाध्य भएर कार्कीले आफ्ना र एमालेका एक–एक सांसदलाई मुख्यमन्त्री बनाएका छन् । तर, कोशीमा अब विश्वासको मत त्यसपछि सरकारमा सर्वदलीय चित्र देखिन्छ कि तीनमध्ये कम्तीमा एक ठूलो दल बाहिरिन्छ ? यो विषय पेचिलो बन्न पुगेको छ । 

तर, तत्काल सम्हाल्न खोजेजस्तो देखिए पनि कोशी विद्रोहले कांग्रेसमा ठूलो भूकम्प नै गएको छ । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे कोशी विद्रोह तत्काललाई समाधानजस्तो देखिए पनि यसले विद्रोह र अनुशासनलाई प्रोत्साहन गरेको बताउँछन् । 

‘कोशीमा उद्धव थापाबाहेकलाई राप्रपाले पनि सघाउँछु भन्दा विकल्पमा पार्टी जानुपर्थ्यो, तर हाम्रो नभएपछि अरूलाई दिने भन्ने मनस्थिति पार्टीले बनायो । थापाको विकल्प नखोज्नु एउटा गल्ती थियो,’ घिमिरे भन्छन्, ‘एउटा गल्तीपछि शेखर समूहको विद्रोह अर्को भुल हो, त्यसलाई मान्यता दिनु पार्टीको अर्को महाभूल भयो । अब अन्य ठाउँमा पनि विद्रोहलाई छूट र समर्थन गर्ने देखियो । पार्टीले नै यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्ने काम भयो । यसको नतिजा भविष्यमा राम्रो हुँदैन ।’

यस्ता घटनापछि भएका समूहमा झन् ठूलो विग्रह आउने र अर्को पक्ष खडा हुने कुरा स्वाभाविक भएको घिमिरे बताउँछन् । 

‘यस्ता घटना हुँदाका साइडइफेक्ट त हुन्छन् नै, तर अहिले नै नतिजा के होला भन्न गाह्रो छ । यसमा सबै दोषी छन्,’ घिमिरेले थपे, ‘यो घटनामा महामन्त्री दुवैले सभापति र शेखरको गल्ती भयो भनिरहनुभएको छ । यसमा सबै दोषी छन् । तर, कोशीमा पार्टीमा हुँदै गरेको कुरा महामन्त्री शर्मालाई थाहा नहुने र बागमतीमा भएको गगनलाई थाहा नहुने हो भने पार्टी प्रणाली कसरी अगाडि बढ्छ ? यो विषय उहाँहरूको असन्तुष्टि जायजै देखिन्छ ।’ 

शेरबहादुर देउवा

 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कोशीमा कांग्रेसको विद्रोहले परिस्थिति र आगामी दिनलाई झन् पेचिलो बनाएको बताउँछन् । 

‘कोशीको यो विद्रोह एउटा सरकार बन्ने विषयसँग मात्रै सम्बन्धित छैन । नेतृत्वको वैमनस्यता र अन्तरर्विरोधको गहिराइ कति छ भन्ने पनि प्रस्ट देखाएको छ,’ दाहाल भन्छन्, ‘देउवा, शेखर, गगन–विश्व गरी तीनवटा धार यो घटनापछि सतहमा आएको छ । उसै पनि गुटले थिलथिलो भएको कांग्रेसलाई यो घटनाले झन् छियाछिया बनाउने काम गरेको छ । यसको असर विस्तारै देखिँदै जान्छ ।’

प्रस्ट तीन धारले कांग्रेसको आगामी महाधिवेशनको सम्भावित चित्र नै बदल्न सक्ने उनी बताउँछन् । 

‘महामन्त्रीहरूले देखाइरहेको असन्तोष सही हो भने शेखरलाई चुनौतीभन्दा केही देखिँदैन, होइन सामान्य असन्तुष्टि मात्रै हो भने केही हुँदैन,’ दाहाल भन्छन्, ‘शेखरले देउवा निर्वाचित भएलगत्तै सभापतिविरुद्धमा जान्नँ भन्नुभयो । तर, ४० प्रतिशत भागबण्डा खोज्ने र अहिले विद्रोह गर्ने अवस्थामा पुग्नुभयो । फेरि गठबन्धनमा प्रतिबद्ध छु भन्नुभयो । यसैले राजनीतिमा उहाँको पनि पनि अरूको जस्तै विरोधाभाष देखियो । अब यसलाई कस्तो रूपमा लानुहुन्छ, त्यो कुराले टीमको बाटो तय गर्छ ।’

मुख्यमन्त्री केदार कार्कीलाई एमालेसँग मिल्दा वा गठबन्धनलाई खुशी बनाउँदा दुवैतिर चुनौती रहेको उनी बताउँछन् । 

‘कांग्रेसमा समस्या झन् पेचिलो बन्दै जाने अवस्था देखिएको छ, किनकि पार्टीमा न एकता रह्यो, न अनुशासन नै,’ उनले भने, ‘कांग्रेसका विद्रोही मुख्यमन्त्रीले अलग–अलग ठाउँमा खुट्टा राख्नुभएको छ । कार्की गठबन्धनसँग मिले एमालेलाई घात हुन्छ । एमालेसँग मिले पार्टीप्रति विद्रोह भइरहन्छ । यसैले केही गरे पनि अवस्था सहज छैन ।’

salt training

कमेन्ट गर्नुहोस्