
डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुन: डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने स्पिकर यन्त्र सार्वजनिक गरेको छ।
सिम कार्ड तथा वाइफाइ मार्फत इन्टरनेटमा जोडिएर स्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्तै जानकारी दिन सक्ने इसेवाले जनाएको छ।
यार्सा टेकसँगको सहकार्यमा बनाइएको स्पिकर यन्त्र पूर्णत: नेपालमै बनेको यन्त्र हो।
स्पिकर एक अडियो अलर्ट यन्त्र हो । जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्तै दिनेछ ।
यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ। यस अगाडि, ग्राहक तथा व्यवसायीहरूले क्यूआरमार्फत आएको भुक्तानी पूरा भए/नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो।
कहिलेकाहीँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउन ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो। त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो।
उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन। कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार(व्यवसाय सञ्चालन गर्दा कारोबार पूरा भएर नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो।
एफ वान् सफ्ट ग्रुप टावरमा कात्तिक १ मा भएको स्पिकर यन्त्रको लोकार्पण समारोह इसेवा प्रालिका चिफ बिजनेस अफिसर आशिष गौतमले सञ्चालन गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए।