
सन् २००६ को दशैंमा युवराज अधिकारी जागिरको सिलसिलामा मलेसियामा थिए । घर फर्किने अवसर मिलेन ।
सामाजिक सञ्जाल र इन्टरनेटको व्यापकताका कारण अहिले जस्तो भिडियोमा कुरा गर्ने अवस्था थिएन । दशैंका बेला बिरानो भूमिमा रहेका युवराजलाई गाउँघर र आमाबुवाको सम्झनाले सतायो ।
मनमा आएको भावनालाई युवराजले यसरी शब्दमा उतारे :
अक्षता र जमरामा आमाबाबु देख्छु ।
एक्लै बसी आँसु झार्दै तस्वीर पल्टाइ हेर्छु ।
दिदीबहिनी दाजुभाइ भेला भए होलान्,
आज धेरै टाढा छु म सम्झी रोए होलान् ।
काम विशेषले परदेशमा हुने सबैको मनमा यस्तै भावना आउँछन्, तर शब्द शिल्पीले मात्र अक्षरमा उतार्न सक्छन् ।
गहिरो भावसहित लेखिएका ‘अक्षता र जमरामा आमाबाबु देख्छु’ धेरै वर्षसम्म युवराजको डायरीमै कैद भइरह्यो । शब्दरचना भएको एक दशकपछि २०७६ सालको दशैंबाट रेडियो र टेलिभिजनमा गुञ्जिन थाल्यो, एउटा गहिरो भाव बोकेको दशैं गीतको रूपमा ।
युवराज अधिकारीको शब्दमा प्रख्यात संगीतकार सुरेश अधिकारीको संगीत र भेट्रान गायक दीप श्रेष्ठको कालजयी स्वरको समिश्रणपछि तयार भयो, ‘अक्षता र जमरामा आमाबाबु देख्छु,’ भूषण दाहालले भिडियो निर्देशन गरेका छन् ।
दुबईका विभिन्न शहर र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा आशिष पुरुष र जानुका पौडेलले अभिनय गरेका छन् । गीतकार अधिकारीले दशैंमा आउन नपाएकालाई भावुक बनाउने शब्द कोरेका छन्,
आँगनीमा बहिनी होलिन्, आमा चुलोचौको,
केटाकेटी मझेरीमा सम्झनाको धोको ।
बाँचिरहे आगौं साल टीका थाप्न आउँछु,
नबिर्स है साथीभाइ माया चिनाऊ ल्याउँछु ।
‘कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दशैंतिहारजस्ता चाडबाडको समयमा स्वदेश आउन नपाएको र आफ्नो संस्कार एवं संस्कृति मनाउन नपाएको पीडालाई शब्दमा उतारेको थिएँ,’ अधिकारीले लोकान्तरसँग भने, ‘गीत सुन्ने र हेर्नेले आफ्नै पीडा बोलेको जस्तो महसुस भयो भन्ने प्रतिक्रिया दिए ।’
युवराजको अर्को परिचय
युवराज अधिकारी अहिले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष छन् । राष्ट्रिय ध्वजाबाहकलाई विदेशका धेरै गन्तव्यमा पुर्याएर कनेक्टिभिटी बढाउन लागिपरेका अधिकारीले आफ्नो अर्को परिचय बनाएका छन्, गीतकारको रूपमा ।
दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य र राजेशपायल राईजस्ता हस्तीले युवराज अधिकारीका गीतमा स्वर दिएका छन् । ‘देउरालीको फूल’ नामको एल्बममा रामकृष्ण ढकालले ‘आकाशको माथि माथि’ भन्ने गीत गाएका छन् ।
यस्तै स्वरूपराज आचार्यले ‘आँसु आफैँ पिउनुपर्छ,’ गाएका छन् । ‘देउरालीको फूल’ शीर्ष गीत भने दीप श्रेष्ठले गाएका छन् । यस्तै राजेश पायल राई र मीना निरौलाले पनि युवराज अधिकारीले लेखेका गीतमा स्वर दिएका छन् ।
रञ्जित गजमेरको संगीतमा दीप श्रेष्ठले अरू दुईवटा गीतमा स्वर दिएका छन् । ‘अहिलेसम्म १७/१८ वटा गीत लेखेको छु, केही रेकर्ड भएका छन्, केही रेकर्डिङको क्रममा छन्,’ अधिकारीले भने ।