
नेपाली कांग्रेस, नेकपा एमाले या माओवादी केन्द्र राजनीतिक दल मात्र होइनन, समाजको सानो सानो एकाईसम्म जरा गाडेर बसेका सामाजिक तत्वहरु हुन । मुख्य राजनीतिक परिवर्तनका वाहकहरु हुन । खासमा भन्ने हो भने अहिले जसरी नेपालको राजनीतिमा च्याउसरी उम्रेका दलहरुको बिगबिगी छ, तिनिहरु हुर्कने, बढ्ने वातावरणको सृजना गरिदिएका दलहरु हुन् ।
जसले बिभिन्न कालखण्डमा बलिदानीका कोटाहरु चुक्ता गरे । निरंकुश तन्त्रको बिरुद्धमा लड्दा लड्दै धेरै सहादत भोगेर र मृत्युको मुखबाट फर्केर नाफाको जिन्दगी बाँचेका नेताहरु यी तीन दलमा खोज्ने हो भने आधा आधी संख्यामा भेटिन्छन् ।
ठूला र एक आपसमा प्रतिस्पर्धी दलहरु भएपछी भ्रष्टाचारी पनि त्यहिँ लुक्ने मौका पाउँछ, बिदेशी जासुस पनि छिराइन्छ र सदाचारी भ्रष्टाचारी बन्ने मौका पाउँछ अनि भ्रष्टाचारी पनि सुध्रीने मौका पाउँछ । दशबर्षसम्म संविधान बनाउने, शान्तिप्रक्रिया टुङ्ग्याउने लगायतका कामहरुमा जसले जति सक्छ उति त्याग गरेर आफ्नो राजनीतिक फाईदा संगसंगै देशको फाइदाको लागी सोचेर अघि बढेका दलहरु हुन तीन दल ।
अहिले नेपालको राजनीतिमा ’नवहनुमानहरु’को प्रवेश भएको छ । दशबर्षे सशस्त्र द्वन्द्वलाई ब्यवस्थापन गर्नको लागी गरिएको बाह्रबुँदे सम्झौता यिनीहरुलाई मन परेको छैन । हजारौंले राजतन्त्र बिरुद्धको आन्दोलनमा बगाएको ज्यानलाई यिनीहरुले आत्महत्यासंग तुलना गर्छन र बगाएको रगत सामान्य रगतसँग तुलना गर्छन् । यिनीहरुले युद्धकालमा शान्तिको ब्यापार गरेर पैसा कुम्ल्याउन खोजे र शान्तिकालमा युद्धको ब्यापार गरेर पैसा कुम्ल्याउन खोज्दैछन् ।
बहुदलीय लोकतान्त्रिक प्रक्रिया संसारका अधिकांश बिकसित देशहरुले पछ्याएको शासन ब्यबस्था हो । यसका कमजोरीहरु धेरै छन् तर यसको मुख्य आधार भनेको मानवअधिकार, प्रेस स्वतन्त्रता, नागरिकका बृहत मौलिक हकहरुको सुरक्षा र संबर्धन, बिभिन्न बैचारिक, धार्मिक र सैद्धान्तिक आस्थाहरुको संरक्षण यसका महत्त्वपूर्ण आधारहरु हुन ।
जनतालाई स्थिर सरकार दिन्छौं भनेर एउटा धमिलो आशा देखाएका बामपन्थी गठबन्धनका मुख्य स्टेक होल्डरहरुले यदि बेईमानी गरेनन भने आगामी पाँच बर्षमा देशको गति अहिलेसम्म कै तीव्र हुनेछ । यो सबैको आशा र बिश्वास हो । नेपाली कांग्रेसको बहुमत आएन भने इमान्दार प्रतिपक्ष बनेर बस्नेछ । यतिका बर्षसम्म सत्ताको नेतृत्व गरेर बसिसकेको कांग्रेसलाई भ्रष्टाचारका छिद्रहरु कहाँ छन भनेर थाहा नहुने कुरा भएन ।
सके कांग्रेसले टाल्नेछ, नसके छिद्रहरुको पहिचान गराएर बामपन्थी भनिएकाहरुलाई टाल्न लगाउने छ । ती छिद्रहरुको उपयोग गरेर यदी सत्ताका संचालकहरुले अकूत सम्पती आर्जन गर्न खोजे भने त्यसको बिरोध गर्नको लागी कांग्रेससँग संसद र सडक दुबै बाटाहरु खुला रहनेछन् ।
समाजवाद उन्मुख संविधानको कार्यान्वयनको लागी समाजवादलाई रणनीतिक लक्ष्य बनाएका दलहरुको नियन्त्रणमा सत्ता हुनुपर्छ र आगामी निर्वाचनले त्यसको लागी बाटो खुला गरिदिनेछ । आजसम्म अस्थीर रहेको नेपालको राजनीतिक परिदृश्यलाई थोरै भएपनि स्थीरता तर्फ मोड्न भईरहेका ठूला राजनीतिक दलहरु इमान्दार हुनुको विकल्प बचेको छैन । संविधान बनाएर नयाँ राजनीतिक कोर्स तर्फ देशलाई अघिवढाएका दलहरुलाई निमिट्यान्न पार्न सकिँदैन र प्रयास पनि गर्नुहुँदैन ।
माथी उल्लेख गरिएका ‘नवहनुमान’हरु काङ्ग्रेस, एमाले या माओवादीका नेताहरु संघर्षको मैदानबाट निरंकुशतन्त्रलाई हुंकार गरिरहँदा टाई सुट लगाएर अफिस छिर्दै थिए या टाई बेल्ट लगाएर र सिंगान पुछ्ने रुमाल छातिमा झुन्ड्याएर बोर्डिङ स्कुलमा पश्चिमी ‘राइम’हरु कण्ठ गर्दै थिए । उनिहरु पढ्ने बोर्डिङ स्कुलमा सम्भवतः नेपाली बोल्न बन्देज गरिएको हुनुपर्छ ।
हाम्रो पुस्ता राजनीतिमा लागेको रवीन्द्र मिश्रको बीबीसी सुनेर होइन, रन्जु दर्शनाको साडीको रंग मन परेर होइन, उज्वल थापाले अमेरिकामा पाएको असफलताको कथा पढेर होईन । बिपी, मदन भण्डारी, पुष्पलाल, र अलि पर पुग्ने हो भने गान्धी, कार्ल मार्क्स, माओ लगायतका इतिहास परिवर्तन गर्ने हस्तीहरुको कथा पढेर हो ।
राजनीति बुझेको तर इतिहास नबुझेको यो नवहनुमानको जत्थाले नेपाल यो स्थितिसम्म आउन कति सहिदहरुले प्राण त्याग गरे र किन गरे भनेर बुझिसकेको छैन ।
बहुदल आएपछि पन्चायतकालीन शक्तिहरु नयाँ रुपमा राजनीतिमा प्रवेश गरेर च्याँखे थाप्न शुरु गरे र देशलाई अस्थीर बनाउन सफल भए । गणतन्त्र आएपछी गणतन्त्र नमान्ने, धार्मिक ब्यबस्थाको वकालत गर्ने र संघीयतालाई आयातित ब्यबस्था मान्नेहरुले यो या त्यो बहानामा सकेसम्म च्याँखे थापेर एक दुई सीट पड्काउने नत्र निर्वाचनको बारेमा भ्रम फैलाएर मतपरिणामलाई प्रभावित पार्ने खालको उद्देश्यबाट ग्रसित भएका छन् ।
कमसेकम बहुमत ल्याएर राजनीतिक स्थीरता ल्याउने हो भने जनताको मन जित्न सक्नेहरुले प्रचुर मात्रामा आफ्नो राजनीतिक आधारभूमी सृजना गर्न सक्छन नेपालमा । तर राजनीतिक स्थीरतालाई नै प्रभावित पार्ने गरेर एक दुई सीट ल्याउने र कहिले यता कहिले उता गरेर मन्त्री खान खोज्ने बहाना चाहिएकाहरुलाई अहिले जनताको बिचमा म देशै कायापलट गर्दिन्छु भनेर भोट माग्ने अधिकार छैन ।
संघर्षको मैदानबाट आएकाहरुलाई दुत्कारेर नयाँ या बैकल्पिक शक्तिको नाउँमा पुन अस्थीरताको बिउ रोप्न खोज्ने हो की कमसेकम यो संबिधानको सफल कार्यान्वयनको लागी यसको जन्मदाताहरुलाई एकदुई पटक हेर्ने हो त्यो फैसला गर्ने जिम्मा जनताको हातमा आएको छ । बाबुरामले जित्ने एक सिट, रविन्द्र मिश्र र उज्वल थापाहरुले जित्ने एक एक सिट र अन्य एकदुई जना डन, गुन्डा या बागीले जित्ने एक एक सिटमा जनताले भविष्य देख्ने कुरा स्वाभाविक भए पनि समयको माग होइन ।
पुराना दलका वृद्ध नेताहरु पनि सत्ताको स्वादले मात्तिएर जनताको निरन्तरको असन्तुष्टिलाई बेवास्ता गर्दै आईरहेको कुरा साँचो हो । तर निष्ठाको राजनीति गर्नेहरु पनि उत्तिकै छन् । भर्भराउँदा युवाहरु पनि सामेल छन । अत्यन्तै उपयुक्त त पहिलो पुस्ताका नेताहरुले सहज रुपमा दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरे हुने हो । ब्यबहारिक रुपमा कुनै न कुनै खोट लिएर हिँडेका नेताहरु भए पनि राजनीतिको मेरुदण्ड मानिने सैद्धान्तिक पक्षलाई बिश्वब्यापी तरिकाले अंगाल्ने बिषयमा पुराना राजनीतिक पार्टीहरुमा हुने बहसलाई नजर अन्दाज गर्न मिल्दैन ।
सत्तालाई दुईध्रुवीय बन्न सहयोग गरौं, बहुध्रुवीय होइन । बरु आजै उदारवादी लोकतन्त्र चाहने हो की सामाजिक न्याय र उत्पादनका साधनहरुमा राज्यको हस्तक्षेप चाहने बामपन्थी सत्ता चाहिएको हो, निर्णय गरौं । हामिलाई जस्तो ब्यबस्था मन पर्छ, त्यसलाई नेतृत्व गरिरहेका दलहरुलाई वर्गिय माया गर्न शुरु गरौं र पर्ने भए आन्तरिक आलोचना र संघर्ष गर्न तर्फ लागौं ।
बल्ल स्वच्छ र प्रतिस्पर्धात्मक राजनीतिको शुरुवात हुन्छ । राजनीतिमा कुनै योग्यता नभएका तर अन्य क्षेत्रमा बिशिष्ठता भएकाहरुले आफ्नो क्षेत्र सम्हालौं । बल्ल बल्ल स्थिर बाटो समात्न थालेको राजनीतिको कोर्सलाई प्रभावित पारेर ऐतिहासिक कलंकको भागिदार नबनौं ।
बरु नयाँपुस्ताका राजनीति गर्न चाहने युवाहरुले बामपन्थी या लोकतान्त्रिक तरिकाबाट सोचौं र बिचारको निर्माण गरौं । दीर्घकालीन राजनीतिको लागी अनुहार होइन, राजनीतिक भूमिमा प्रयोग भैसकेको सिद्धान्त र बिचारधाराको आवश्यकता पर्छ । अहिलेसम्म संघर्ष गरेकाहरुलाई राजनीतिक डिस्कोर्सबाट पर जान नदिन खबरदारी र पहलकदमी लिऔं ।