
गत वैशाखमा अभिनेता दयाहाङ राईका दुईवटा चलचित्र एकैदिनबाट प्रदर्शनमा आएका थिए ।
उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘बिहे पास’ वैशाख १ मा प्रदर्शन भएका थिए । यी दुईमा ‘जारी’ले राम्रो व्यापार गर्यो भने ‘बिहे पास’ले अपेक्षित व्यापार गर्न सकेन् ।
एउटै अभिनेताका दुई चलचित्र एकैदिनबाट प्रदर्शनमा आउनु आफैमा दुर्लभ संयोग हो । यसवर्ष यो संयोग फेरि पनि दोहरिने भएको छ । अर्थात्, आउँदो माघमा अभिनेता राईका दुईवटा चलचित्र एकैदिनबाट प्रदर्शनमा आउने भएका छन् ।
दयाहाङको शीर्ष भूमिका रहेका ‘हात्तीछाप’ र ‘दयारानी’ले माघ २६ गतेका लागि प्रदर्शन मिति घोषणा गरेका हुन् । योसँगै यसवर्ष फेरि दयाहाङका दुई चलचित्रबीच प्रतिस्पर्धा तय भएको हो ।
सिमोस सुनुवारको निर्देशन रहेको ‘हात्तीछाप’मा दयाहाङसँगै सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
यस्तै, माओत्से गुरुङको लेखन एवं निर्देशन रहेको ‘दयारानी’ कोरोना महामारीअगाडि निर्माण भएको चलचित्र हो । निर्माण भएको केही वर्षपछि प्रदर्शनमा आउन लागेको यो चलचित्रमा दयाहाङसँगै दीया पुन मुख्य भूमिकामा छिन् ।
विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङलगायतले समेत चलचित्रमा अभिनय गरेका छन् ।