
नेपाल ल्युब आयल लिमिटेडले चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त ल्युब आयलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।
कम्पनीका अनुसार रत्ननगर १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री बापत १ लाख १५ हजार ३ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
बीसी अटो वर्कशप नाममा आफ्नै व्यवसाय सञ्चालन गरेका विक्रम एक कर्मठ र दक्ष अटो मेकानिक रुपमा परिचित रहेका कम्पनीले जनाएको छ ।
रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका मार्केटिङ्ग मेनेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका सञ्चालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पूर्व अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टीकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।