०१ साउन २०८३, शुक्रबार

बुटवल कालिका क्याम्पसमा अब मास्टर डिग्रीसम्म पढाइ

मंसिर २४, २०८०
बुटवल
बुटवल कालिका क्याम्पसमा अब मास्टर डिग्रीसम्म पढाइ

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्रामीण विकास (आरडी) विषयको पढाइ शुरू गर्न लागेको हो । 

क्याम्पस प्रमुख घनश्याम पाठकले स्नातकोत्तर गर्न बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै सर्वसुलभ शुल्कमा एमएको पढाइ शुरू गर्न लागिएको बताए ।

‘बुटवल कालिका क्याम्पस २०७० सालमा स्थापित एउटा कान्छो सामुदायिक क्याम्पस हो,’ पाठकले भने, ‘कक्षा १२ पास भएका विद्यार्थी तथा तिनका परिवारले बुटवल क्याम्पसमा पढाउने इच्छा व्यक्त गरेपछि क्याम्पस शुरू गरेका थियौं, अब मास्टर डिग्री पनि कालिका क्याम्पसबाट नै हुने भयो । यो बुटवलका लागि गौरवको विषय हो ।’  

आरडी विषयका लागि फर्म वितरण भइरहेको छ । केही दिनअघि मात्र क्याम्पसले मास्टर डिग्री अध्यापन गराउन सम्बन्धन पाएको हो । 

२०७० सालमा ३५ जना विद्यार्थीबाट पढाइ थालेको क्याम्पसमा अहिले स्नातक तहतर्फ ३ हजार २०० विद्यार्थी अध्ययनरत छन् । सामुदायिक बुटवल कालिका क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कान्छो क्याम्पस हो । स्नातक तहतर्फ व्यवस्थापन, शिक्षा र मानविकी संकायका पढाइ हुन्छ । अन्य विषयहरू आवश्यकताअनुसार थप गर्दै जाने क्याम्पस प्रमुख पाठकको भनाइ छ ।  

‘क्याम्पसको जग्गा प्राप्तिमा पूर्व अर्थमन्त्री तथा रूपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौडेलको ठूलो सपोर्ट भएको थियो,’ पाठक थप्छन्, ‘जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि पौडेलले ६ करोड रुपैयाँ बजेट उपलब्ध गराएपछि क्याम्पस अहिलेको स्थानमा आएको हो ।’ 

पछिल्लो समय ‘प्लस टु’ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि भन्दै विदेश जाने विद्यार्थी बढ्दा क्याम्पसहरूमा विद्यार्थीको खडेरी लागेको छ ।

अब नयाँ पिँढीले फरक ढंगबाट पढाइ गर्न नसके नेपालमा विद्यार्थीहरू रहन नसक्ने अवस्था देखिएको पाठकको चिन्ता छ ।

चुस्त व्यवस्थापन, दक्ष प्राध्यापकबाट प्रयोगात्मक र विद्यार्थी केन्द्रित सिकाई पद्धतिले क्याम्पस छोटो समयमा स्थापित भएको क्याम्पसका लेखा अधिकृत कमल ढकालले बताए ।

क्याम्पसको भौतिक पूर्वाधार पर्याप्त र सुविधासम्पन्न रहेको क्याम्पसका प्राध्यापक दामोदर घिमिरेले बताए । यहाँ अध्ययनरत विद्यार्थीहरूले विभिन्न विषयमा हरेक वर्ष टप नतिजा ल्याउने गरेका छन् । क्याम्पसमा ७५ जना प्राध्यापकहरू छन् । 

salt training

कमेन्ट गर्नुहोस्