
सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा थारु समुदायका पाँच सय ४८ जनाको रगत परीक्षण गरिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र शुक्लाफाँटा नगरपालिकाको समन्वयमा आयोजित शिविरमा रगत परीक्षण गरिएकामध्ये ४२ जनामा बाहक (ट्रेट) देखा परेको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए ।
“बाहक देखापरेका व्यक्तिहरुको रगतको अन्तिम चेकजाँच गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि हुने छ”, उनले भने, “जाँच प्रतिवेदन आउन एक साता लाग्छ ।” बाहक देखिएकै भरमा बिरामी भन्न नमिल्ने उनको भनाइ छ ।
भट्टका अनुसार सिकलसेल एनिमिया वंशानुगत रोग भएकाले बुबाआमाबाट यो बालबालिकामा सर्छ । यो रोग भएका बिरामीका रक्तकोष गोलो आकारको नभएर हँसिया आकारको हुने हुँदा रगत सजिलोसँग बग्न नसक्दा अक्सिजनको मात्रा कमी हुने र बिरामीले असह्य पीडा खेप्नुपर्ने हुन्छ । सामान्यतया रक्त कोषको आयु एक सय २० दिन जति हुने भए पनि सिकलसेल भएका बिरामीमा रक्तकोष १० दिन मात्रै जीवित हुने गरेको भट्टको भनाइ छ ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् ।