
नक्कली कागजात बनाएर विभिन्न देश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी नक्कली कागजात बनाउने गिरोहसम्म पुगेको थियो ।
पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक, तिनका एजेन्ट र केही अध्यागमनका कर्मचारीसमेत छन् । अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले नक्कली कागजात बनाएर भिजिट र वर्किङ भिसामा विभिन्न व्यक्तिलाई विदेश पठाउने गरेका थिए ।
पक्राउ पर्नेमा ६ वटा ट्राभल एजेन्सी सञ्चालक र तिनका एजेन्ट र अध्यागमनका कर्मचारीसमेत छन् ।
उनीहरूले शैक्षिक प्रमाणपत्रदेखि नाता प्रमाणित, श्रम स्वीकृति र पुलिस रिपोर्टसम्म नक्कली बनाउने गरेको छ । यसमा केही एयरलाइन्सको समेत संलग्नता रहेको एसएसपी राठौरले बताए । 'विभिन्न ट्राभल एजेन्सी र तिनका एजेण्डहरूले भिजिट भिसाका नाममा सेटिङ मिलाएर विदेश पठाउने गरेको भन्दै केही शंकास्पद राहदानीहरू एयरपोर्टबाट हामी कहाँ आएका थिए,' एसएसपी राठौरले भने, 'तिनै पासपोर्टका आधारमा हामीले अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरेका हौं ।'
त्यसबापत् सबैले मोटो रकम लिने गरेको उनको उनले बताए । 'यसमा दैनिक लाखौंको कारोबार हुने गरेको पाइएको छ । नक्कली कागजात बनाएर विदेश पठाउने कार्यमा अध्यागमनले ४० देखि ५५ हजार लिने गरेको पाइयो,' उनले भने, 'कन्सल्टेन्सीले १० हजारसम्म लिने गरेका रहेछन् । यसमा केही एयरलाइन्सको पनि मिलेमतो देखिएको छ । यसरी दैनिक २५० जनासम्म विदेश पठाउने गरेको पाइएको छ ।'
उनीहरूले नक्कली भिजिट र वर्किङ भिसामा दुबईदेखि रसिया, युक्रेन र अस्ट्रेलियासम्म पठाउने गरेको भेटियो ।' यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।