
कृषि तथा वन विज्ञान विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरेको छ ।
२०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो तथा बजारमुखी र व्यावहारिक बन्ने गरी परिमार्जन गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरू समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।
विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको छ।
पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चार वर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए ।
विद्यार्थीहरूले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ ।
पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरू, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् ।
यसैगरी, विद्यार्थीको तनाव कम गर्न योग, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ ।